१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, १४ : ४५
१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै  सकियो बिमस्टेक सम्मेलन

काठमाडौं । १८ बुँदे घोषणा पत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको दोस्रो दिन शुक्रबार सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।  
समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।
सम्मेलनले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेको छ । बिमस्टेकको अध्यक्षता नेपालले २०१४ देखि गर्दै आएको थियो ।
सम्मेलन समापनअघि निवर्तमान अध्यक्ष एवं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनमा सहभागी अतिविशिष्ट पाहुनासहित सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए । सार्कका सदस्यमध्ये पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान बिम्स्टेकमा छैनन् ।

दुई दिने सम्मेलनका लागि आएका अतिथिमध्ये बंगलादेशकी प्रधानमन्त्री हसिना, म्यान्मारका राष्ट्रपति विन, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट र भारतका प्रधानमन्त्री मोदी शुक्रबार नै र्फकदै छन् ।

मोदीले स्वदेश र्फकनुअघि पशुपति क्षेत्रमा निर्मित धर्मशाला उदघाटन गर्ने कार्यक्रम छ । केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल-काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार हुने बताइएको छ ।
बिमस्टेकको स्थापना सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको थियो । बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहने गरी क्षेत्रीय सञ्जाल गठन भएको थियो । सन् १९९७ डिसेम्बर २२ को मन्त्रीस्तरीय बैठकबाट म्यान्मार यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिम्स्टेकको नामकरणलाई अनुमोदन गरेको थियो । यसको स्थायी सचिवालय बङ्गलदेशको राजधानी ढाकामा छ । नेपाल सन् १९९८ मा यसको आमन्त्रित सदस्य बनेको थियो । सन् २००४ फेब्रुअरीमा थाइल्यान्डमा भएको छैटौं मन्त्रीस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए ।

पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस