काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरूभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँको नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरूले नै संसद्को गरिमा जोगाइरहेको दाबी गरे ।
हालै रास्वपाले आफ्नो विधानसमेत मिचेर पदाधिकारीहरू मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरे ।
लामिछानेले भने, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरू बसेर विधानलाई लिपिबद्ध गरेका हौँ । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टिमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घण्टा वा २४ घण्टा होइन, १२ घण्टा पनि पर्खिन सक्दिनँ । एक घण्टाभित्र कारबाही गर्छु ।’
‘कुनै चर्चित र लोकप्रिय विश्लेषकले यिनीहरू पनि उस्तै हुन् भन्दा विदेशमा पसिना बगाइरहेका तपाईंहरुलाई हो कि क्या हो भन्ने लाग्न सक्छ । तर, होइन, कुनै हालतमा होइन । कुनै हालतमा अरू पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गर्छु । रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।’
‘रास्वपाले बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला । जुन दिन हामीले इमान छाड्छौँ, त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याँक्दिनुहोला ।’
‘यो देशमा योग्य क्षमतावान् व्यक्ति धेरै छन् । आज नेपालको सदन सदन जस्तो भएको छ । बाँकी दलका सांसद तराजुको एउटा साइडमा र रास्वपाका २१ सांसदलाई अर्को साइडमा राखेर हेर्नुस् । भारी को छ आफैँ जोख्नुस् । २१ जनाले सांसदको गरिमा जोगाएका छौँ । हामी अर्को राजनीतिको पसल थाप्न आएका होइनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने