अस्ताए ‘फगत एक नजरमा’

शुक्रबार, १५ भदौ २०७५, ०९ : ५७
अस्ताए ‘फगत एक नजरमा’

 

काठमाडौँ । फगत एक नजर म कसैले लियो मन
जति बिर्सूँ भन्छु उति सम्झने झन्

प्रथम भेट मै भित्र कुत् कुत् उठेथ्यो
नजर के झुकेथ्यो कदम के रुकेथ्यो
नजानी नजानीकनै लठ्ठियो तन
फगत एक नजरमा कसैले लियो मन


नयाँ प्रीत रे यि नयाँ गीत रे यो 
कुनै मीतको जीतको रित रे यो
छछल्क्यो जवानी झझल्की नयाँपन
फगत एक नजरमा कसैले लियो मन


यो चर्चित गीतको श्वरका धनी हुन्, गायक हरिप्रसाद रिमाल । उनी कहिल्यै नफर्कन गरी हामी माझबाट अस्ताइसकेका छन् । उनको पार्थिव शरीर अस्ताए पनि उनका कर्णप्रिय श्वरहरु हाम्रो मानसपटलमा नाचिरहेका छन् ।  
रेडियो नेपालका पहिलो गायक हुन् रिमाल । वि.सं. २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि उनले उक्त रेडियोमा पहिलो पटक गीत गाएर इतिहास बनाएका हुन् । 
वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुबा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालका साइँला छोरा थिए । उनी पहिलो बिहे गायिका किशोरीदेवीसँग र दोस्रो कल्याणी पौडेलसँग वैवाहिक जीवनमा बाँधिएका थिए । 
‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ...’ । यही गीतले उनलाई नेपालका प्रथम गायक बनायो । यो गीत उनले ००७ साल चैत २० गते रेडियो प्रशारण भएको पहिलो दिन प्रत्यक्ष प्रशारणमा गाएर नयाँ इतिहास कोरेका थिए । 
‘फगत एक नजरमा कसैले लियो मन...’ केशवराज पिँडालीको रचनामा उनलै गाएको यो गीतले धेरै चर्चा पायो । 
‘बिना बादल असिना आउँदैन...’, ‘हातै काट्यो चालिसे चुराले...’ यी दुबै गीत रिमालका बुहचर्चित भएका छन् । ‘कल्लेकल्ले कैलेकैले डाक्छ मलाई...’–‘आँसु बहाऊँ...’ ‘पवनले फूललाई...’ ‘जाऊँ हामी बादलपारि...’ जस्ता गीतमा श्वर भरेका रिमाल फेरि श्वर भर्न अब आउनेछैनन् ।
रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुन् । उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।  
नेपालमा बनेको पहिलो चलचित्र आमा, हिजो आज भोलि, परिवर्तन, मनको बाँध, सिन्दूर, के घर के डेरा, सन्तान, पिरतीजस्ता चलचित्रको अभिनयसम्म आउँदा उनले रंगमञ्चमा मात्र होइन चलचित्रको पर्दामा चरित्रनायकका रूपमा आफूलाई स्थापित गरे । 
२०३२ सालमा सांस्कृतिक संस्थानमा नाटक निर्देशक भएपछि हरिप्रसादले नाचघरमा थुप्रै नाटकको निर्देशन र मञ्चन गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस