वाणिज्य बैंक घोटाला प्रकरणमा चार कर्मचारीसहितका आरोपित दोषी ठहर

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, १६ : २१
वाणिज्य बैंक घोटाला प्रकरणमा चार कर्मचारीसहितका आरोपित दोषी ठहर

काठमाडौँ । सर्वोच्च अदालतले करिब दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ ।सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार दाजुभाइ र राष्ट्रिय वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरू सुबोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गरेको थियो ।

तर ७ मङ्सिरमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो । अब उनीहरू ११ वर्ष कैद बस्नुपर्नेछ ।

गलत ढङ्गले ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको विराटनगर रानी शाखाका ६ जना कर्मचारीहरू पनि दोषी ठहर भएका छन् । उक्त बैंकको रानी शाखाका प्रबन्धकहरू राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रबन्धक चन्द्रलाल अमात्य, लेखा अधिकृत भैरवप्रसाद पोखरेललाई विशेष अदालतले ६र६ महिनाको कैद सजाय सुनाएको थियो । बैंकका सहलेखा अधिकृत बीरेन्द्रलाल छोटे र कामू सहलेखा अधिकृत श्यामकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको रानी शाखाबाट कर्जा सुविधा पाउने मंगतुरामले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको निष्कर्षसहित १९ जेठ, २०६२ सालमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो ।

मंगतुराम समूह अन्तर्गत रहेका विभिन्न कम्पनी र फर्महरूलाई ऋण दिँदा कर्मचारीसँग मिलेमतो भएको अख्तियारको दाबी थियो । बैंकिङ कानुन तथा नीति नियम विपरीत ऋण प्रवाह भएको भन्दै अख्तियारले १ अर्ब ३७ करोड बिगो मागवादी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस