विपिन जोशीको रिहाइको पहल गर्न कतार जाँदै परराष्ट्रमन्त्री

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, १३ : ४७
विपिन जोशीको रिहाइको पहल गर्न कतार जाँदै परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् ।

यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । 

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस