एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, ११ : २६
एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । 

यस प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समुहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको छ । सन्तोष शाक्य र उनको समुहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षिय प्रयत्न थापा र उनको समुहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ । 

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समुहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो । एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्रदान गर्दछ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले आफ्नो उत्साह प्रकट गर्दै भने, “विजयीहरुलाई धेरै धेरै बधाई । दीदी र भाइको विषेश सम्बन्धलाई ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागीता जनाउने हरेक व्यक्ति तथा समुहरुहरुलाई धन्यबाद दिन चाहन्छु । यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ । स्टोरीेटेलिङ् एउटा महत्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ ।”

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, “एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो । यसै अन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौं तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौं ।”

स्थानिय कन्टेन्ट अर्थात सामाग्री र प्रतिभाको विकासमा सहयोग पुर्याउने हेतुले आयोजना गरिको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहलाई लक्षित रहेको थियो । “हामी जस्ता युवालाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरिदिनु भएकोमा एनसेललाई धेरै धन्यवाद । यस लघु चलचित्र प्रतियोगितामा विजयी हुन पाएकोमा हामी धेरै खुसी छाैँ । जुनसकै  पृष्ठभुमिबाट आएका र चलचित्र निर्माणका क्षेत्रमा चाख राख्ने हामी जस्ता मानिसहरुलाई यस किसिमको अवसरले आफ्नो प्रतिभा देखाउन र चिनाउन ठूलो प्रोत्साहन दिन्छ।”

यस लघु चलचित्र प्रतियोयिताका निर्णायक मण्डलका सदस्यहरु निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए । विजयीहरुको घोषणा भाइटीकाको दिन गरिएको थियो र उत्कृष्ट लघु चलचित्रहरु सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियोे । आफ्नो उत्साह व्यक्त गर्दै निर्णायक मण्डलका सदस्यहरुले यस प्रतियोगितामा देखिएको उल्लेखनीय सहभागिताले हाम्रो देशमा थुप्रै प्रतिभाहरु रहको स्पष्ट पारेको जनाए ।  

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले  दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने शर्त रहेको थियो । साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरु थिए ।

प्रतिक्रिया दिनुहोस