जाजरकोट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, ०७ : ४४
जाजरकोट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट । कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण चिसोले बिरामी पर्न थालेका छन् । 

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसंख्या प्रभावित भएका थिए । ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए । पाँच वर्षमुनिका चार हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ६७४ गर्भवती, २८२ सुत्केरी, दुई हजार ८३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र ४०८ अपांगता भएका व्यक्तिसहित नौ हजार ३८० जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

कुशे गाउँपालिकामा २५ हजार ८१५ जनसंख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पाँच वर्षमुनिका दुई हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ५१५ जना गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७  दीर्घरोगी र ८८ अपांगता भएका व्यक्तिसहित चार हजार ९७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।
 
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार ३५२ जनसंख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए । 

पाँच वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपांगता भएकासहित ७४३ जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ । 

नलगाड नगरपालिकामा २९ हजार २०९ जनसंख्या प्रभावित भएका थिए । ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए । पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ३३१ गर्भवती, ३७४ सुत्केरी, एक हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपांगता भएका व्यक्तिसहित तीन हजार हजार ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँचवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस