तीनजना राष्ट्रिय सभा सदस्य रिक्त हुने भएपछि आयोगद्वारा पत्राचार

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, १९ : ५७
तीनजना राष्ट्रिय सभा सदस्य रिक्त हुने भएपछि आयोगद्वारा पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अल्पसङ्ख्यक समुदाय तोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । अब रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये तीनजना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट रिक्त हुन लागेको भन्दै आयोगले मन्त्रालयलाई अल्पसङ्ख्यक समुदाय तोक्न पत्रचार गरेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमा २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकोमा तीनजना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यको कार्यकाल पनि सकिन लागेको भन्दै आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

आयोगका अनुसार अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसबाट गण्डकी प्रदेशबाट निर्वाचित प्रकाश पन्थ, नेकपा (माओवादी केन्द्र)बाट सुदूरपश्चिम प्रदेशबाट निर्वाचित महेशकुमार महरा र नेकपा (एमाले)बाट बागमती प्रदेशबाट निर्वाचित रामचन्द्र राईको कार्यकाल सकिन लागेको हो ।

यी तीनवटै रिक्त रहेका क्षेत्रबाट अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित गराउनका लागि आयोगले मन्त्रालयलाई अल्पसङ्ख्यक तोक्न पत्राचार गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को प्रयोजनको लागि अल्पसङ्ख्यक समुदाय तोकी आयोगलाई जानकारी गराउनका लागि आयोगले पत्राचार गरेका हो ।

गृह मन्त्रालयका अनुसार भने अल्पसङ्ख्यक थर तोक्नका लागि निर्वाचन आयोगले गरेको पत्र आइनसकेको जनाएको छ ।