हिन्द महासागरमा इजरायली कार्गो जहाजमा आक्रमण, इरानमाथि आशंका

एजेन्सी

आइतबार, १० मंसिर २०८०, १४ : ४७
हिन्द महासागरमा इजरायली कार्गो जहाजमा आक्रमण, इरानमाथि आशंका

एजेन्सी । हिन्द महासागरमा इजरायली कार्गो जहाजमा ड्रोन हमला भएको रिपोर्टहरू छन्। समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हिन्द महासागरमा इजरायली कार्गो जहाजमा ड्रोन आक्रमण भएको जनाएको छ।

अमेरिकी अधिकारीहरूले यसको पछाडि इरानको रिभोलुसनरी गार्डको हात हुनसक्ने दावी गरेका छन् ।एएफपीसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले भने, "आईआरजीसीले हिन्द महासागरमा एक नागरिकको मोटर वाहनमा गोली हानेको शहीद-१३६ यूएभीको रिपोर्टबाट हामी सचेत छौं।"

अधिकारीहरूका अनुसार आक्रमणमा जहाजमा सामान्य क्षति पुगेको छ र कोही पनि घाइते भएका छैनन्।त्यसको एक साताअघि इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा इजरायलको एउटा कार्गो जहाज कब्जा गरेका थिए ।

यसै क्रममा लेबनानको हिजबुल्लाह सम्बद्ध मिडिया च्यानल अल मायादिनले हिन्द महासागरमा इजरायलको जहाजमा ड्रोन हमलाको रिपोर्ट पनि प्रकाशित गरेको छ ।यद्यपी च्यानलले आफ्नो रिपोर्टमा यो जहाजमा कसरी आक्रमण भयो वा कसले गराएको हो भन्ने बताएको छैन ।

हालै यमनका हुथी विद्रोहीका प्रवक्ताले इजरायल वा इजरायली कम्पनीका सबै जहाजलाई निशाना बनाउने घोषणा गरेका थिए । हुथी विद्रोहीहरूले इजरायली झण्डा फहराएको कुनै पनि जहाज प्यालेस्टिनीहरूको समर्थनमा निशाना बनाइने बताएका थिए। -बीबीसी

प्रतिक्रिया दिनुहोस