भारतमा ११ दिनदेखि सुरुङमा फसेका मजदुरलाई पाइपबाट पठाइयो खिचडी

एजेन्सी

मंगलबार, ०५ मंसिर २०८०, ०९ : ५५
भारतमा ११ दिनदेखि सुरुङमा फसेका मजदुरलाई पाइपबाट 
 पठाइयो खिचडी

एजेन्सी । ११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका छन् । उनीहरूसँग निरन्तर सम्वादसमेत भइरहेको समाचारमा उल्लेख छ । उनीहरूलाई निकाल्न प्रयास भइरहेको छ । 

भारतीय उद्धारकर्मीहरूले उनीहरूलाई निकाल्न सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उद्धारकर्मीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् । सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा लैजाने प्रयास गरिरहेका छन् । उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर, अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस