काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न नेपाली चाडपर्वले निकै ठूलो आधार प्रदान गरेको बताएका छन् ।
दीपावलीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहेको बताएका छन् ।
परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वहरूको महत्वपूर्ण भूमिका रहने उनले बताएका छन् ।
“विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधारहरूसमेत हुन्,” शुभकामना सन्देशमा उनले भनेका छन्, “नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएका छन् ।”
पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित रहेको उनले बताएका छन् ।
“तिहारलगायत पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत हुन् । यस पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउँछ,” प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपन्छीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउँछ ।”
देउसी भैलोलगायत सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ