राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम पुगेर लियो १६ औँ योजनाका लागि सुझाव

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १२ : २७
राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम पुगेर लियो १६ औँ योजनाका लागि सुझाव

काठमाडौँ । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६ औँ आवधिक योजनाका लागि सुझाव लिएको छ । १६ योजनाको तयारीमा जुटेको आयोगले पहिलोपटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।  आयोगकी सदस्य डा.अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदूरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा.शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए । 

कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले १६ औँ पञ्चवर्षीय योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् । सुझाव दिने धेरैले सङ्घीयताको मर्मअनुसार १६ औँ आवधिक योजना बनाउनुपर्नेमा जोड दिएका छन् । 

आयोग सदस्य डा.शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रूपमा सम्पन्न भएको बताइन् । आयोगले अहिले केवल दस्ताबेजका लागि मात्रै नभएर साँच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् । तलबाट वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तलसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन् । 

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो ।  कोशी प्रदेशमा सदस्य डा.आरपी विच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेस प्रदेशमा डा.जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा.रामकुमार फुयाँल र सुदूरपश्चिममा डा.अनिता शाह ढुङ्गाना नेतृत्वको टोली पुगेको थियो । कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस