भूकम्प पीडितका लागि १ हजार अस्थायी आवास बनाउन कांग्रेसले श्रमदान गर्ने

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १५ : ०७
भूकम्प पीडितका लागि १ हजार अस्थायी आवास बनाउन कांग्रेसले श्रमदान गर्ने

काठमाडौं। नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि एक हजार अस्थायी आवास निर्माणको लागि श्रमदान गर्ने भएको छ ।प्रभावित क्षेत्रमा पुगेर दुई वटा नमुना अस्थायी आवास बनाएर फर्किएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो जनाएका हुन् ।

साथै उनीहरूले अस्थायी आवास निर्माणमा सुरक्षा संयन्त्र, दलका भ्रातृ संगठन र संघ संस्थालाई खटाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।‘अस्थायी आवास निर्माण गर्न स्वयं सक्षम परिवार बाहेकको हकमा पनि हजारौं स्वयंसेवी परिचालन गर्नुपर्ने देखिन्छ ।

यसका लागि सरकारले आफ्नो सुरक्षा संयन्त्र परिचालन गर्नुसँगै राजनैतिक दलहरू, तिनका भ्रातृ संगठनहरू एवं विभिन्न संघसंस्थाहरूलाई आह्वान गर्न जरुरी छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपाली काँग्रेस यो अभियानमा पीडित र सरकारको साथमा रहेको र पहिलो चरणमा १ हजार अस्थायी आवास स्वयंसेवी दक्ष जनशक्तिका साथ निर्माणका लागि श्रमदान गर्ने जानकारी गराउँदछौं।’उनीहरूले प्रभावित क्षेत्रमा ११ जनाको समूहले ६ घण्टामा ४० हजार लागतमा अस्थायी आवास बनाउन सकिने पनि जनाएका छन् । 

 

‘अस्थायी आवास कम्तीमा एउटा जाडो र एउटा बर्खा झेल्नसक्ने गरी निश्चित मापदण्डको आधारमा बलियोनै बनाउन जरुरी छ । यसका लागि हरेक वडामा शुरूमा एउटा नमुना घर बनाउन र अन्य घर बनाउँदा त्यसलाई अनुकरण गर्न जरुरी छ’ उनीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘प्रभावित क्षेत्रबाट काठमाडौं फर्किनु अघि भिन्न दुई पालिकामा हामीले दुई वटा नमुना घर बनाएर पीडितलाई हस्तान्तरण समेत गरेका छौं ।

अन्य 'मोडल'को निर्माणसँगै ११ जनाको समूहले ६ घण्टामा ४० हजार भन्दा कम रकममा बनाउन सकिने ती दुवै घर पनि नमुनाका लागि उपयुक्त हुनसक्छन् भन्ने हाम्रो ठम्याइ छ ।’

प्रतिक्रिया दिनुहोस