बलात्कारीलाई कडाभन्दा कडा सजाय हुनैपर्छ

सूर्यप्रकाश कँडेल

सोमबार, ११ भदौ २०७५, १७ : ११
बलात्कारीलाई कडाभन्दा कडा सजाय हुनैपर्छ

यो संसार विश्वासमा अडिएको छ । महिलामाथि पुरुषले र पुरुषमाथि महिलाले विश्वास नगर्ने हो भने संसार चल्नै सक्दैन । प्रकृतिमाथि मानिसले र मानिसमाथि प्रकृतिले विश्वास नगर्ने हो भने पनि संसार रहँदैन । प्रकृति जड भएकोले निरीह छ मानिसको अत्याचार सहन । तर मानिसले प्रकृतिमाथि अत्याचार गर्दै जाने हो भने कालान्तरमा मानिसकै अस्तित्व लोप हुन्छ ।

भाले र पोथी प्रकृतिको अनुपम रचना हुन् । सृष्टिलाई चलायमान राख्न, सृष्टिको अस्तित्व जोगाउन प्राणीमात्र नभई वनस्पतिमा पनि भाले र पोथी उपलब्ध गराइदिएको छ प्रकृतिले । प्रकृतिले वनस्पति र अन्य प्राणीजस्तै मानवलाई पनि वंश वृद्धिकै लागि भाले र पोथी उपलब्ध गराइदिएको हो । मान्छेले वनस्पति र अन्य प्राणीले गरिरहेकै कर्म गरिरहेको छ वंश वृद्धिका लागि । वनस्पतिलाई प्रजनन्का लागि माध्यमको आवश्यकता पर्छ । फूल फूल्ने विरुवामा फल लाग्छ । फल लाग्नको लागि विरुवाको स्त्रीकेशरमा पुंकेशर पुग्नु पर्छ । हावा वा अन्य किराहरुको माध्यमबाट स्त्रीकेशरमा पुंकेशर पुगेर प्रजनन् प्रकृया पूरा भई फल लाग्छ । त्यही फलभित्र अनगिन्ती बीउ हुन्छन्, जसले नयाँ बिरुवा अंकुरण गराउँछ । ती नयाँ बिरुवामा फूल फूलेपछि फल लाग्न पुनः प्रजनन् प्रकृया हुनुपर्छ ।

अब लागौँ, प्राणी जगततिर । प्राणीहरुमा भाले र पोथीको प्रत्यक्ष समागमबाट प्रजनन् प्रकृया सुरु हुन्छ । पक्षीहरुले सिधै बच्चालाई जन्म नदिएर अण्डा पार्छन् । अण्डाबाट चल्ला कोरल्छन् । स्तनधारी पशुहरुले मानिसले झैँ बच्चा जन्माउँछन् । मानिस पनि स्तनधारी जीव नै हो प्रकृतिको नजरमा । प्रकृतिले मानिसको जन्म अन्य पशु सरह नै गराएको थियो । मानिसका पुर्खा बाँदर थिए भनेर हामीहरुले पढ्दै आएकै कुरा हो । त्यसैले मानिसमा वंशाणुगत हिसाबले पशुत्वको गुण पनि आएको छ । अझ पशुभन्दा पनि तल्लो स्तरको विकृत मानसिकता मानिसमा पाइन्छ । यस्तै विकृत मानसिकताले बलात्कार लगायतका अपराध जन्माउँछ । कुकुर, बिरालो, बाघ, गोरु लगायतका पशुले पनि पोथीलाई जबरजस्ती शारीरिक सम्बन्ध कायम गर्दैनन् । आजको मानिस पशुभन्दा पनि तल्लो स्तरमा पुगेर जघन्य अपराध बलात्कारलाई अस्तित्वमा राखिरहेछ । मानव समाजलाई कलंकित बनाइरहेछ ।

पछिल्लो समय हाम्रो समाजमा बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको छ । कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना नबित्दै पोखरामा अर्की १३ वर्षीया बालिकाको मृत्यु भएको छ । उनको बलात्कारपछि मृत्यु भएको आशंका गरिएपनि पुष्टि भइसकेको छैन । काठमाडौंको नेपालटारमा शुक्रबार साँझ १८ वर्षीय युवकले १४ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । त्यस घटनामा संलग्न युवकलाई प्रहरीले शनिबार साँझ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । केही वर्षअघि महिला हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको थियो । अहिले बलात्कार, सामुहिक बलात्कार र बालिका बलात्कारका घटना सार्वजनिक भइरहेका छन् ।

बलात्कारका घटनाको विरोधमा शुक्रबार बिहान चितवनको भरतपुरमा महिलाहरुले विरोध ¥याली निकालेका थिए । शुक्रबार साँझ नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत भइन् । शनिबार दिउँसो युवाहरुले कालो पट्टी बाँधेर सिठ्ठी बजाउँदै सडकमा विरोध प्रदर्शन गरे । शनिबार साँझ नेपालटारमा बलात्कार आरोपमा १८ वर्षीय युवा पक्राउ परे । बलात्कारका घटना, अपराधी पक्राउ पर्नु र विरोध जुलुसबीच कुनै सम्बन्ध हुँदैन । अपराध सधैं आपराधिक मानसिकताका व्यक्तिबाट हुने गर्छ । यौनहिंसा र बलात्कारका घटनामा संलग्नहरु विक्षिप्त मानसिकता बोकेका व्यक्तिहरु हुन् भन्न कञ्जुस्याइँ गर्न पर्दैन । यस्ता व्यक्तिहरुलाई नैतिक शिक्षा, योगा, ध्यान, सदाचारबारे प्रवचन दिएर सुधारको मार्गमा ल्याउन सकिन्छ । दिमाग ठीकठाक भएको व्यक्तिले जबरजस्ती करणी, बालिका बलात्कार वा अन्य यौनहिंसाको बारेमा सोच्ने गर्दैन । बलात्कार विकृत मानसिकताको उपज भएकोले हाम्रो मानसिकता विकृत नबनोस् भन्नेतर्फ सबैले एकजुट भएर लाग्नु पर्छ ।

बलात्कारका घटनालाई नियन्त्रणमा ल्याउन यसको जरो कारणमा पुग्नु पर्छ । के कुराले हाम्रो समाजका किशोर, युवा र अधवैंशे पुरुषलाई बलात्कार गर्ने गम्भीर अपराधतर्फ डो¥याइरहेको छ ? यसको खोजी गर्नुपर्छ । सत्ता र शक्तिको आडमा हुने अपराधलाई त्यही अनुसारको रणनीति तय गरेर राज्य अगाडि बढ्नुपर्छ । विदेशमा जस्तै अपराध जसले गरेपनि त्यसलाई अपराधीको रुपमा कारबाही गर्ने परिपाटीको सुरुवात गर्नुपर्छ । प्रहरीको वा सेनाको ठूलो पदमा रहेको व्यक्तिका आफन्तले वा राजनीतिक पार्टीको ठूलो नेताका आफन्तले अपराध गरेपनि छुट पाउने वा अनुसन्धान प्रभावित बनाउने वा सजाय कम गराउने खेलहरु सधैंका लागि बन्द हुनुपर्छ । अनिमात्र शक्तिको आडमा हुने अपराध कम हुनेछन् । बलात्कार अभियोग प्रमाणित भएमा आजीवन कारावासको सजाय दिएर त्यस्ता अपराधीलाई जीवनभर जेलमा सडाउने हो भने पनि यस्ता अपराधमा कमी आउने छ । सामाजिक सचेतना बढाउने र जरो कारण खोतल्नेतर्फ समाजका अगुवा अगाडि बढ्ने हो भने बलात्कारजस्तो अपराधलाई समाजबाट बिदा गर्न असम्भव छैन ।

हुन त सजाय मृत्युदण्ड नै तोकिएपनि मृत्युदण्ड हुने कसुर समाजबाट हराउँदैन । तैपनि अपराधलाई नियन्त्रणमा ल्याउन कडाभन्दा कडा सजायको व्यवस्था गर्नै पर्छ । बलात्कारको घटनालाई हत्या सरहको अपराध मानेर कारबाही चलाउने हो भने सजायको डरले पनि यस्ता अमानवीय व्यवहारमा कमी आउन सक्छ । बालिका बलात्कार गर्ने, बलात्कारपछि हत्या गर्नेलाई आजीवन जेलमा सडाउनु नै उपयुक्त हुन्छ । जन्मकैदको नाममा १२ वा १५ वर्ष जेलमा बसेपछि रिहा हुनसक्ने कानुनी प्रावधान फेर्नुपर्छ । आजीवन कारावासको व्यवस्था गरी बलात्कारपछि हत्या वा बालिका बलात्कार गर्नेहरुलाई जीवनभर जेलमा सडाउनु पर्छ । जेल जाँदा जीवितै गएको व्यक्ति जेलबाट फर्कंदा कालगतिले मृत्युवरण गरी लाशको रुपमा फर्केको देखेपछि आपराधिक वा विकृत सोच भएकाहरु केही हदसम्म तर्सन सक्छन् । त्यसैले बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस