चिसो बढेपछि बेँसी सारिँदै गोठ

रासस

बुधबार, २२ कार्तिक २०८०, ११ : २१
चिसो बढेपछि बेँसी सारिँदै गोठ

मनाङ । हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पशु झार्न थालिएको बताए । हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताए। मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिक रूपमा भेडाच्याङ्ग्रापालन गर्दै आएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनले बताए ।

व्यावसायिक रूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए । गुरुङले भने, “गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।” गत वर्ष हिमपहिरामा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, “अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।”

पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए । उनले भने, “पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए । तर पाल्ने क्रम कम भएको छ । चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।” अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले सुनाए । “केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ । कहिले त कति बेला खायो नै थाहा हुँदैन । राहतका लागि झन्झट छ । राहतको रु पाँच–दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा रु. २५ देखि ३० हजार खर्च हुने गरेको उनको गुनासो छ ।

गुरुङले भने, “पहिलेको जस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ । न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो ।” मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ ।

गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । कात्तिक मध्यबाट घर वरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौरीको गोठ राखिनेछन् ।