भूकम्पपीडितको राहतका लागि आईएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाखको चेक हस्तान्तरण​

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १३ : २८
भूकम्पपीडितको राहतका लागि आईएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाखको चेक हस्तान्तरण​

काठमाडौं। आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले १ करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्।अध्यक्ष ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकमको चेक मंगलवार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र  आईएमई लिमिटेडलगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक उनले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्याल पनि सहभागी थिए ।​यसैगरी, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आईएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको  उपस्थिति थियो ।

सहयोग रकम हस्तान्तरणसँगै आईएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। 

साथै, भूकम्प प्रभावित क्षेत्रमा स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने आईएमई ग्रुप तथा आईएमई फाउन्डेसनले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस