जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।
उनले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपतिको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने–‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।
सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।
भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल
रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त