योजना आयोगले ४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, ११ : २२
योजना आयोगले ४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै

काठमाडौँ । १६ औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव सङ्कलन गर्दैछन् ।

आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरूको सहभागिता थियो ।

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागितामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूरपश्चिम, बागमती र मधेस प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौँ’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठुलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरू निजी क्षेत्रको सहभागिता रहनेछ ।’

आयोगले मधेस प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने बागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदूरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुङ्गानालाई पठाएको छ । 

प्रतिक्रिया दिनुहोस