अत्यावश्यक राहत सामग्री लिएर भारतीय विशेष विमान नेपालगञ्जमा

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १९ : ०१
अत्यावश्यक राहत सामग्री लिएर भारतीय विशेष विमान नेपालगञ्जमा

काठमाडौँ । नेपालको कर्णाली प्रदेशमा आएको विनाशकारी भूकम्पबाट प्रभावित जनताको राहत तथा प्राथमिक उपचारका सामग्रीसहित भारतीय वायुसेनाको विशेष विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ ।

विशेष विमानको पहिलो खेपमा टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायतका अत्यावश्यक ११ टनभन्दा बढी सामग्री आइतबार आएको भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।

उनले ती सामग्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । सोमबार अर्को विमान पनि स्वास्थ्य सामग्री र अत्यावश्यक वस्तु लिएर आउने उनले जानकारी दिएका छन् ।

टेन्टलगायत सामानको आवश्यकता बढी भएकाले ती सामग्री थप ल्याउन पहल गरिने उनले बताए ।

नेपालको भूकम्पमा सहयोग प्रदान गर्ने भारत पहिलो मुलुक बनेको छ । भारतीय राजदूतले करिब १० करोडको सामग्री आइसकेको र आवश्यकताअनुसार अरु पनि सहयोग आउने बताए ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले भारतको सहयोगका लागि धन्यवाद दिए । विमानस्थलमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस