तेक्वान्दो संघद्वारा पलेसा ३ लाखसहित सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १५ : ०२
तेक्वान्दो संघद्वारा पलेसा ३ लाखसहित सम्मानित

काठमाडौँ । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेसा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेसालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।  

सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । लामालाई ७५ हजारसहित प्रशंसा पत्र तथा श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । पलेशाका बुवा प्रदीप र आमा मनीता पनि सम्मानित भए । त्यसै कार्यक्रममा एभरेष्ट तेक्वान्दो केयर्स फाउन्डेसन, युएसले पनि पलेसा र लामालाई नगदसहित सम्मान ग¥यो ।

फाउन्डेसनका नेपाल प्रतिनिधि बलराम कार्कीले पलेसालाई ५० हजार र लामालाई २० हजार नगदसहित सम्मान गरे । गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो ।

प्रतिक्रिया दिनुहोस