इलामै बजार चियाबारी राम्रो, त्यहीँ घुम्ने मन हाम्रो, फोहोरचाहिँ नराम्रो

आइतबार, १० भदौ २०७५, १७ : ५२
इलामै बजार चियाबारी राम्रो,  त्यहीँ घुम्ने मन हाम्रो, फोहोरचाहिँ नराम्रो

इलाम । नेपालमा रमणीय घुम्ने ठाउँहरुको चर्चा गर्दा सबैभन्दा पहिलो नाम आउने गर्छ इलामको । इलाम जिल्लाका विभिन्न भागमा चियाखेती हुन्छ । चियाखेती हुने ती ठाउँमध्ये कन्यामको कुरै बेग्लै छ ।

उच्च पहाडी डँंडाकाँडामा बाह्रैमास हरियो देखिने एकनासको चियाका बोटहरुले सुन्दर देखिन्छ कन्याम । सुन्दरता त छँदैछ, त्यसमाथि हिउँदमा मज्जाले घाम लागेर न्यानो हुने, बर्खामा छिनछिनमा पानी पर्ने, अनि छिनमै कुहिरोले छोप्ने र चिसो मौसम हुने भएकोले पछिल्लो समय कन्याम पूर्वको घुम्ने ठाउँको रुपमा विकसित हुँदै गैरहेको छ ।

पूर्वी तराईको झापा, मोरङ, सुनसरीसम्मका अनि पश्चिमतर्फ चितवन, बुटवलसम्मका आन्तरिक पर्यटकदेखि विदेशी पर्यटकहरुको समेत आर्कषणको केन्द्र कन्याम चियाबारी बन्दै गइरहेको छ । तर जतिजति आर्कषणको केन्द्र बन्दै गइरहेको छ कन्याम, त्यतित्यति फोहोरले कन्याम प्रदुषणमय पनि बन्दै गएको बताउँछन् झापाबाट कन्याम पुगेका आन्तरिक पर्यटक निरुपक रिजाल ।

कन्याममा मात्रै बाह्य तथा आन्तरिक गरी दैनिक औससतमा १ सयदेखि १ सय ५० जनाभन्दा बढी मानिस घुम्न आउने गर्दछन् । अझ बिदाको दिनमा त कन्याम चिया बगान नै भरिभराउ हुने गर्दछ । कन्याम घुम्न आउनेहरुलाई मध्यनजर गरेर स्थानियबासीले घोडचढीको व्यवस्था गरेका छन् । विभिन्न डाँडामा दृश्यावलोकनका लागि भ्युप्वाईन्टहरु निर्माण गरेका छन् । यी ठाउँलाई लभ डाँडा, रमिते डाँडा नाम दिइएको छ ।

बढ्दै गएको फोहोरले गर्दा कन्यामको सुन्दरतामा ह्रास आएको बताउँछन्, सुनसरीको इटहरीबाट कन्याम आएका सञ्चारकर्मी गुरु ढकाल । उच्च पहाडी क्षेत्रमा मिलाएर काटिएको चिया बगानले गर्दा इलामका डाँडाकाँडा मनमोहक देखिन्छन् । चिया बगानले ढाकिएका डाँडामध्ये कन्याम साँच्चै मनमोहक छ । यसले गर्दा पनि इलाममात्र नभई इलामभित्रकै कन्याम घुम्नेहरुका लागि एउटा अर्को पर्यटकीय गन्तब्य बनेको छ । तर यो सुन्दर कन्यामलाई पछिल्लो समय फोहोरले भित्रभित्रै कुरुप बनाएको छ ।

टाढाबाट चिया बगानको सुन्दर दृश्य देख्ने जो कोहीलाई आहा कति सुन्दर भन्ने लाग्छ । इलाम जिल्लाको कन्याम चिया बगान सुन्दर, रमाइलो र मनमोहक त छ, तर यो सुन्दरता भित्रभित्रै असुन्दर बन्दै गइरहेको छ । पहिले कन्याम गाविस अहिले आएर सूर्योदय नगरपालिका बनेको छ । त्यतिखेर गाविसले कन्यामको फोहोर व्यवस्थापन गर्ने गर्दथ्यो । तर नगरपालिका भएपछि भने फोहोरको राम्रो व्यवस्थापन नहुँदा कन्यामको सुन्दरतामा प्रभाव परेको छ ।

कन्याममा दिनानुदिन फोहोर बढिरहेको छ । यहाँ घुम्न आउने आगन्तुकको संख्या वृद्धिसंगै फोहोर पनि बढेको हो । फोहोर जहाँ पायो त्यहाँ फाल्ने, जथाभावी दिसापिसाब गर्ने कामले कन्याम प्रदुषित बन्दै गइरहेको छ । पहिले गाविस हँुदा फोहोरको राम्रो व्यवस्थापन हुने गरेको थियो । अहिले फोहोरको उचित व्यवस्थापन हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

फोहोरलाई हरेक साता उठाउने गरिएको सूर्योदय नगरपालिकाका प्रशासकीय अधिकृत खगेन्द्र भट्टराई बताउँछन् । कन्यामको फोहोरलाई रमितेमा विर्सजन गरिँदै आइएको छ । सूर्याेदय नगरपालिकाले हप्तामा होइन, एक दिन बिराएर फोहोर उठायो भनेमात्रै कन्यामको फोहोर व्यवस्थापन हुनसक्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस