नागरिकको काम गर्न निर्देशन नकुर्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १४ : १९
नागरिकको काम गर्न निर्देशन नकुर्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले कर्मचारीहरूलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएकी छन्। शुक्रबार गुठी संस्थानको ६०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन्।

‘कहिलेकाहीँ म कर्मचारीहरूले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु। तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकहरूको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन, ‘मन्त्री चौधरीले भनिन्, ‘तर, यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ। अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागीदार हुन्छ।’

आम नागरिक तथा सेवाग्राहीहरूको काम चुस्त दुरुस्त ढङ्गबाट जिम्मेवार भएर गर्न उनले सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिइन्। गुठी संस्थानमा कर्मचारी तथा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको बताउँदै त्यसको समाधानका निम्ति आफू लागि परेको उनले बताइन्।

‘गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएको छ। त्यसलाई अनुगमन, नियन्त्रण, नियमन तथा कारबाही गर्नका लागि कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव रहेको मैले बुझेको छु, ‘उनले भनिन्, यस्ता खालका समस्या समाधान गर्न हामी छिट्टै ऐनको मस्यौदा छिट्टै तयार गरी संसदमा पेश गर्ने, विशेष गरी कर्मचारीको मूल गुनासोको रूपमा रहेको कर्मचारी विनियमावली स्वीकृतिको लागि मन्त्रालयले यथाशीघ्र मन्त्रिपरिषद्मा पेश गर्नेछ। सो पश्चात् संस्थानको रिक्त पद पूर्तिको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस