चितवन । भरतपुर महानगरपालिका भित्र रहेका निजी संस्थाका माध्यमिक विद्यालयहरूले बिहानी कक्षा सञ्चालन गर्न नपाउने भएका छन् । महानगरभित्रका माध्यामिक तहमा पढाउने ७४ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयहरूलाई आउँदो शैक्षिक सत्रदेखि बिहानी कक्षा सञ्चालन गर्न नपाउने गरी भरतपुर महानगरका शिक्षा समितिले निर्देशन दिएको हो ।
कात्तिक १२ गते महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले निर्णय कार्यान्वयन गर्न पत्राचार गर्दै शैक्षिक सत्र २०८१–२०८२ देखि बिहानी सत्रमा पढाउने गरी भर्ना नै नलिन निर्देशन गरेको छ ।
नगरशिक्षा समितिले भदौको ५ गते गरेको निर्णय अनुसार सबै संस्थागत विद्यालयहरूलाई पाठ्यक्रम र पाठ्यघण्टा मध्यनजर गरी आगामी शैक्षिक सत्रमा कक्षा ११ र १२ मा बिहानी कक्षा सञ्चालन नगर्न निर्देशन गरिएको भनिएको छ ।
महानगरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलको हस्ताक्षर रहेको निर्देशनमा अहिलेदेखि नै दिवा समूहमा अध्यापन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार पनि तयार गरिराख्न पनि भनिएको छ ।
महानगरका नगरशिक्षा अधिकारी पौडेलका अनुसार यसअघि नै पाठ्यघण्टा नपुग्ने भनी महानगरले विज्ञान विषयमा कक्षा ११ र १२ बिहानी समूहमा पढाउन रोक लगाएको छ । अहिले महानगरमा बिहानी समूहमा व्यवस्थापन र मानविकी समूहमा मात्रै कक्षा ११ र १२ को कक्षा सञ्चालन हुँदै आएको छ । महानगरले यसअघि नै सामुदायिक विद्यालयहरूलाई पनि बिहानी सत्रमा आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन नगर्न भनिसकेको छ ।
संस्थागत विद्यालय सञ्चालकहरूले भने महानगरको यस निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले बिहानी समूहमा पाठ्यघण्टा पूरा हुने गरी पढाउन रोक लगाउन नहुने पनि बताउँदै आएका छन् । यसअघि चितवनको रत्ननगर नगरपालिकाले पनि बिहानी सत्रमा माध्यामिक कक्षा सञ्चालन नगर्न संस्थागत विद्यालयहरूलाई निर्देशन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ कार्तिक २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम
प्रेस सेन्टर चितवनले दसबुँदे माग राख्दै बुझायो ज्ञापनपत्र
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता