सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्दै

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १० : १३
सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्दै

काठमाडौ । सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्ने भएको छ । तिहारमा चिनी अभाव हुन नदिन सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्न लागेको वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट २५ हजार मेट्रिक टन चिनी खरिद गर्न साल्ट ट्रेडिङ कम्पनीलाई निर्देशन दिएको उनले बताए । 

भारतबाट उक्त चिनी आएसँगै बजारमा अभाव नहुने उनले बताए । ठूलो मात्रामा चिनी आयात भएपछि बजारमा लुकाइएको चिनीसमेत बाहिर आउने उनको भनाइ छ । 'प्रधानमन्त्रीज्यूले २५ हजार मेट्रिक टन चिनी भारतबाट खरिद गरेर ल्याउन निर्देशन दिनुभएको छ,' उनले भने, 'उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी छ । साल्ट ट्रेडिङ कम्पनीबाट यो चिनी ल्याइनेछ । भारतबाट चिनी आएपछि बजारमा लुकाइएको पनि बाहिर आउनेछ । आपूर्ति सहज हुन्छ ।'

यस्तै विभागले चिनी लुकाइएको हुनसक्ने आशंकामा सादा पोशाकमा टोली खटाएर बजार अनुगमन गरिरहेको समेत उनले बताए । 

बिहीबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनी अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए ।

हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने पनि सुनिश्चित गरिएको छ । नेपाल साल्ट ट्रेडिङले शुक्रबार नै उक्त चिनी खरिद गरी खुद्रा उपभोक्तामार्फत् बजारमा ल्याउँदै छ । साल्ट ट्रेडिङसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात छ ।