प्रधानमन्त्रीलाई व्यवसायीको ध्यानाकर्षण– गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न कूटनीतिक पहल होस्

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, १५ : ०३
प्रधानमन्त्रीलाई व्यवसायीको ध्यानाकर्षण– गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न कूटनीतिक पहल होस्

बुटवल। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थललाई नियमित रूपमा सञ्चालनको व्यवस्था गर्न भैरहवाका व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगै मंगलवार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई सिद्धार्थ सञ्जाल भैरहवा, रूपन्देहीले ज्ञापनपत्र बुझाउदै यथाशक्य विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहलकदमी लिन आग्रह गरेको हो ।

उनीहरूले प्रधानमन्त्रीलाई नेपाल वायुसेवा निमगको जहाजबाट उडान भर्न अपिल गरे । सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थल सञ्चालनमा आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलनका कार्यक्रम अघि सारिएकोसमेत जानकारी गराए ।

 

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले विमानस्थल सञ्चालनका लागि सरकार गम्भीर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने अश्वासन दिएको ज्ञवालीले बताए । ‘प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ, काठमाडौं आउनुहोस् थप छलफल गरौंला भन्नुभएको छ,’ ज्ञवालीले भने ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयलाई पनि मंगलवार ज्ञापनपत्र बुझाएको छ । उद्घाटन भएको दुई वर्ष हुन लाग्दासमेत विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू प्रभावकारी रूपमा भएका छैनन् ।

विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले भैरहवा–लुम्बिनी क्षेत्रमा ठूलो लगानी गरेका छन् । विमानस्थल नचल्दा लगानी संकटमा परेपछि युवा, व्यवसायी र उद्योगीहरूले विमानस्थल नियमति चलाउन दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस