संक्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन व्यस्त छौं : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, १३ : १७
संक्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन व्यस्त छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङ्गयाउन व्यस्त रहेको बताएका छन् ।सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा परिणत गर्ने प्रक्रियालाई सफलतापूर्वक अगुवाइ गर्ने प्रमुख खेलाडीका रूपमा द्वन्द्व र शान्तिको मूल्य आफूले बुझेको उनले बताए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मंगलवार राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्ने कार्यक्रममा प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्न व्यस्त रहेको बताएका हुन् । ‘अहिले हामी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुग्याउनमा व्यस्त छौं । हाम्रो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्‌भाव सुनिश्चित गर्नु हो’ प्रचण्डले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया पूरा गर्ने काममा अन्तर्राष्ट्रिय समुदायको सद्‌भाव अपेक्षा गरेको उनले बताए । नेपाली जनताले शान्तिको खोजीमा उदाहरणीय लचकता प्रदर्शन गरेका प्रचण्डको भनाइ छ ।

‘परिवर्तन र रूपान्तरणका लागि संघर्षको नेतृत्व गर्ने नेता र सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्ने प्रक्रियाको अगुवाइ गर्ने नेताको रुपमा मैले शान्तिको मूल्य र द्वन्द्वको मूल्य बुझेको छु’ प्रचण्डले भने । 

यसअघि आइतवार प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पर्‍याउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस