राजस्व छले इन्टरनेट कम्पनीले, सरोकारवाला निकाय रमिते

सुमन गैरे

शनिबार, ०९ भदौ २०७५, १९ : ३६
राजस्व छले इन्टरनेट कम्पनीले, सरोकारवाला निकाय रमिते

चितवन । इन्टरनेट प्रदायक निजी कम्पनीहरुले वर्षौदेखि सम्झौता नगरी विद्युत र नेपाल टेलिकमका पोल प्रयोग गरी व्यापार गर्दा गर्दा सरोकारवाला निकाय मुकदर्शक बनेका छन् ।

वर्षौदेखि राजस्व छली गरी व्यापार गर्दा पनि विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मचारीहरु किन रमिते बनेर बसेका छन् खोजीको विषय बनेको छ । नाफामूलक कम्पनी एनसेलले दुई वर्षदेखि राजस्व तिरेको छैन ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार एनसेलले आर्थिक वर्ष ०७३/७४ र ०७४/०७५ मा विद्युत पोल प्रयोग गरी इन्टर–नेटको व्यापार गरेवापत तिर्नुपर्ने राजस्व तिरेको छैन । एनसेलले ४ लाख ९ सय ८० रुपैयाँ राजस्व तिर्न बाँकी रहेको कार्यालय प्रमुख इन्जिनियर सुरेशकुमार महतोले जानकारी दिए । ताकेता गर्दा पनि एनसेल कम्पनीले अटेर गरेको उनको भनाइ छ ।

प्राधिकरणका अनुसार प्राइम, आभोर, भायनेट, नेटलिंक जस्ता निजी कम्पनीहरुले सम्झौता नै नगरी पोलको प्रयोग गरेर इन्टरनेटको व्यापार गरी राजस्व छली गरेका छन् । तीमध्ये क्षेत्रपुरमा शाखा रहेको भायनेट कम्पनीले निवेदन दिएपछि पोलको एकिन गरिएको बताइएको छ । सो कम्पनीले नारायणगढ–भरतपुर क्षेत्रमा १ सय २१ वटा पोल प्रयोग गरी इन्टरनेटको व्यापार गरेको प्राधिकरणका लेखा अधिकृत विष्णुबहादुर राजथलाले बताए । उक्त पोल प्रयोग गरेवापत सो कम्पनीले वार्षिक २४ हजार ८ सय ५ रुपैयाँ राजस्व तिर्नुपर्नेमा सम्झौता गर्न सम्पर्कमा नआएको उनको भनाइ छ ।

उता नेपाल टेलिकमका पोलमा केही निजी इन्टरनेट प्रदायक कम्पनीले पूर्व स्वीकृति नलिई तार टाँगेर इन्टरनेटको व्यापार गरेको सो कार्यालयले जनाएको छ । तार टांग्नुअघि निजी कम्पनीले जिल्ला हुलाक कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान छ । विना सम्झौता इन्टरनेटको व्यापार गरेका कम्पनीहरुको हुलाक कार्यालयबाट तथ्याङ्क लिएर असोज महिनादेखि तार काट्न सुरु गर्ने विद्युत प्राधिकरणका लेखा अधिकृत राजथलाले बताएका छन् ।

केही केबुल कम्पनीले विना सम्झौता इन्टरनेटको व्यापार गरेर दिनदाहडै राजस्व छली गरेका छन् भने चोक चोकमा जथाभावी तार झुन्डाएर बजारको रुप नै बिागरेका छन् । कतिपय त निजी घरको छत समेत प्रयाग गरेको देखियो ।

 

प्रतिक्रिया दिनुहोस