डेंगी संक्रमितको संख्या बढ्दै

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, १५ : ५५
डेंगी संक्रमितको संख्या बढ्दै

काठमाडौँ । पछिल्लो केही दिनयता काभ्रेमा डेंगी सङ्क्रमितको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । पछिल्लो २४ घण्टामा काभ्रेमा ४ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

काभ्रेको पाँचखाल नगरपालिकाका १ जना जना पुरुष, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष र रोशी गाउँपालिकाका १ जना पुरुष गरी ४ जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख डा।अनिता खनालले जानकारी दिइन् । उनका अनुसार, पछिल्लो केही दिनयता जिल्लामा डेंगी सङ्क्रमितको संख्यामा वृद्धि भएको छ ।

त्यस्तै, दुई दिनअघि मात्रै पनि काभ्रेमा ९ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । । यस वर्षको साउनदेखि हालसम्म काभ्रेमा ८५ जना महिला र ८२ जना पुरुष गरी १६७ जनामा डेंगी संक्रमण पुष्टि भएको कार्यालयकी प्रमुख डा।खनालले बताइन् ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, काभ्रेको १३ वटा स्थानीय तहमध्ये बनेपा नगरपालिकामा सबैभन्दा धेरै डेंगी सङ्क्रमितको संख्या रहेको छ । हालसम्मको विवरणमा बनेपा नगरपालिकामा ३५ जना महिला र ३० जना पुरुष गरी ६५ जनामा डेंगी संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकामा २१ जना, पनौती नगरपालिकामा २० जना, पाँचखाल नगरपालिकामा ७ जना, नमोबुद्ध नगरपालिकामा २२ जना, मण्डनदेउपुर नगरपालिकामा १८ जना, भुम्लु गाउँपालिकामा १ जना, रोशी गाउँपालिकामा ८ जना, तेमाल गाउँपालिकामा २ जना, खानीखोला गाउँपालिकामा १ जना, महाभारत गाउँपालिकामा १ जना र चौंरीदेउराली गाउँपालिकामा १ जनामा डेंगी संक्रमण पुष्टि भएको कार्यालयको विवरण उल्लेख छ ।

बेथानचोक गाउँपालिकामा भने हालसम्म डेंगी सङ्क्रमितको संख्या शून्य रहेको छ । जिल्लामा डेंगी सङ्क्रमितको संख्या बढ्दै गएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियान, विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस