ब्लड बैंकमा समेत रगत अभाव, रक्तदान गर्न आह्वान

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, २२ : २७
ब्लड बैंकमा समेत रगत अभाव, रक्तदान गर्न आह्वान

भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानू भन्ने भनाइ थियो। अहिले भक्तपुरमै रगत अभाव भएको छ।दसैं सुरू भएदेखि नै रक्तदान लगायत कार्यक्रम ठप्प भएपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकमा समेत रगत अभाव भएको हो।

रक्तदान नहुँदा रगत अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए।उनले चाडबाड बेला रक्तदान लगायत कार्यक्रम नहुँदा रगत अभाव भएको उल्लेख गर्दै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए।

'यतिखेर देशव्यापी रूपमै रगत अभाव चुलिएको छ। दसैंका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन। भक्तपुरमा पनि रगत अभाव छ,' सहमहामन्त्री थापाले भने, 'दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौं, माग भने दैनिक १५० पिन्टसम्म हुने गरेको छ। रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौं, रित्तो फर्कनुपरेको छैन।'

रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरूलाई फोन गरेर बोलाउँदै रगत संकलन गरेर पठाउने गरेको थापाले बताए। भक्तपुरमा मात्र नभई काठमाडौं उपत्यका लगायत काभ्रपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो। उनले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैसँग आह्वान गरे।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले पनि रक्तदाताको सूची हेर्दै बोलाएर रगत संकलन गरिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस