साढे नौ अर्ब बढीको बिजुली भारत निर्यात

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, ११ : २४
साढे नौ अर्ब बढीको बिजुली भारत निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भारततर्फ उल्लेख्य रुपमा बिजुली निर्यात भएको छ । चालु वर्षको साउनदेखि असोज महिनासम्ममा नेपाल विद्युत प्राधिकरणले साढे ९ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात गरेको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा उल्लेख्यरुपमा भारततर्फ बिजुली निर्यात गरेको छ । चालु वर्षको असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ ।

एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीका लागि पनि अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।