भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् ।
असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए ।
पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उनको भनाइ थियो ।
बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । ‘अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्’ अध्यक्ष मल्लले भने, ‘दसैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।’ विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा सुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् ।
मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् ।
यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति रु एक हजार पाँच सयसम्म तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ कार्तिक २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो