बोराले छोपेर काठमाडौं ल्याउँदै गरेको ९२ बोरा चिनी बरामद

सफल खबर संवाददाता

शुक्रबार, ०३ कार्तिक २०८०, ०८ : २५
बोराले छोपेर काठमाडौं ल्याउँदै गरेको ९२ बोरा चिनी बरामद

काठमाडौ । राजस्व छलेर व्यापारीले काठमाडौं ल्याउँदै गरेको ९२ बोरा चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको छ। 

बिहीबार साँझ इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले बनेपा ७ स्थितमा अरनिको राजमार्गबाट ना.६ ख ६२१९ नम्बरको ट्रकसहित ९२ बोरा अवैध चिनी बरामद गरेको हो। 

धुलिखेल नगरपालिका २ का ३७ वर्षीय राजु तिमल्सिनाले चलाएर ल्याउँदै गरेको ट्रकमा अवैध चिनी फेला परेपछि बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

शंका लागेर ट्रक रोकेर चेकजाँच गर्दा ट्रक भित्र धानको बोराले छोपेर लुकाई छिपाई ल्याउँदै गरेको ५० किलो दरको ९२ बोरा चिनी फेला परेपछि बरामद गरिएको डीएसपी श्रेष्ठले बताए।

चिनीसँगै प्रहरीले उक्त ट्रकबाट २८ बोरा धान पनि बरामद गरेको छ।  बाहिरबाट धानको बोराले छोपेर ल्याएको चिनीको कुनैपनि कागजात फेला नपरेपछि बरामद गरिएको श्रेष्ठले बताए।