आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी

बुधबार, ०१ कार्तिक २०८०, ०९ : ०९
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अर्को अप्रत्यासित नतिजा आएको छ ।

एसोएएिट राष्ट्र नेदरल्यान्ड्सले टेस्ट टोली दक्षिण अफ्रिकालाई हराएपछि जारी विश्वकपमा दोस्रो अप्रत्याशित नतिजा निस्किएको हो । मंगलवार राति धर्मशालामा सकिएको खेलमा बलियो दक्षिण अफ्रिका तुलनात्मक कमजोर नेदरल्यान्ड्सँग ३८ रनले स्तब्ध बन्यो ।

जारी विश्वकपमा यसअघि अफगानिस्तानले साविक विजेता इंग्ल्यान्डलाई ६९ रनले हराउँदै पहिलो अप्रत्याशित नतिजा ल्याएको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको २४६ रनको लक्ष्य दक्षिण अफ्रिकाले भेट्टाउन सकेन । उ २०७ रनमै अलआउट भयो । 

डेभिड मिल्नरले सर्वाधिक ४३ रनको योगदान गरे । पुछारमा आएका केशव महाराजले ४० र हेनरिक क्लासेनले २८ रन जोडे पनि दक्षिण अफ्रिकाले लक्ष्य भेट्टाउन सकेनन । डच टिमका लोगान भान विकले सर्वाधिक ३ विकेट लिए । यस्तै, बास डी लिडे, रुलोफ वान डेर, पाउल वेन मिकेरेनले समान २ तथा कालिन एकरमेनले १ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २४५ रन बनाएको थियो । कप्तान स्काट एडवर्ड्सले नटआउट ७८ रन बनाएको पारीमा रुलोफ वान डेरले २९ रनको योगदान दिएका थिए । यस्तै आर्यन दत्त २३ रनमा अविजित रहे भने अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहेन । 

दक्षिण अफ्रिकाका लुंगी एनगिडी, मार्को जानसन र कगिसो रबाडाले समान ३ विकेट लिएका थिए ।

नेदरल्यान्ड्सले तेस्रो खेलमा पहिलो जीत दर्ता गरेको हो । दक्षिण अफ्रिका भने तेस्रो खेलमा आएर पराजित बन्न पुग्यो ।

हारका बाबजुद दक्षिण अफ्रिका अंक तालिकाको तेस्रो स्थानमा छ । जीत निकालेको नेदरल्यान्ड्स नवौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस