काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि घरेलु मैदानमा टी–२० त्रिकोणात्मक श्रृंखला खेल्दैछ । टी–२० विश्वकपअघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो ।
पहिलो खेलअन्तर्गत नेपालले आज नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ । यो खेल मुलपानी मैदान दिउँसो १ बजे शुरू हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा र बाँकी खेल मुलपानी मैदानमा हुनेछन् ।
यस श्रृंखलामा नेपालका सुपरस्टार बलर सन्दीप लामिछाने भने हुनेछैनन् । सन्दीप टी–२० क्रिकेटका लागि अनुभवी मानिन्छन् । उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल)लगायत विश्वभरका प्रायः सबै फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
यसर्थ सन्दीप नहुँदा नेपालको खेलमा असर पर्ने तथा टोलीलाई उनको अभाव खड्किने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘सन्दीप नहुँदा नेपालको खेलमा असर पर्छ नै । उहाँ कठिन समयबाट गुज्रिरहनुभएको छ । त्यसमा म धैरै जान चाहन्न ।’
सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । यो मुद्दा अदालतमा विचाराधीन छ । पटक–पटक पेशी स्थगित हुँदा सन्दीपले दुःखी हुँदै राष्ट्रिय टोलीबाट केही समयलाई विश्राम लिने घोषणा गरेका हुन् ।
नेपालले कात्तिक २ र ४ गते हङकङसँग र कात्तिक ६ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र यूएईले कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् ।
अंक तालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
यूएईमाथि नेपालको रोमाञ्चक जित