कालोपत्र सडकको महानगर प्रमुख रेनु दाहालबाट उद्घाटन

शुक्रबार, ०८ भदौ २०७५, ११ : ४३
कालोपत्र सडकको महानगर प्रमुख रेनु दाहालबाट उद्घाटन

चितवन : भरतपुर महानगरपालिका वडा नं. १७ मा निर्माण गरिएको कालोपत्र सडकको महानगर प्रमुख रेनु दाहालबाट उद्घाटन गरिएको छ ।  वडा नं १७ को गोब्रेनी चोकमा वडा स्तरीय बजेटबाट ७ सय १० मीटर र राजकुमार चोक हुँदै ललितचोक तर्फको नगर स्तरीय बजेटबाट ११ सय ४० मीटर गरि १८ सय ५० मिटर बाटो निर्माणको काम सम्पन्न भएको हो । दुबै सडकको भरतपुर महानगरपालिका का मेयर रेनु दाहालले उद्घाटन गर्नुभयो । १८ सय ५० मिटर सडक निर्माण सम्पन्न गर्न १ करोड ४५ लाख खर्च भएको छ । उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि महानगर प्रमुख दाहालले गुणस्तरीय र दिगो विकास भरतपुर महानगरपालिकाको एकमात्र लक्ष रहेको बताउनुभयो । प्रमुख दाहालले महानगर, वडा र जनसहभागितामा निर्मित कालोपत्र सडकको अवलोकन समेत गर्दै यसलाई चालु बर्षमा पनि निरन्तरता दिने बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकाको विकास जनसहभागितामा आधारित भएकोमा जोड दिनुभयो । 
दाहालले अबको ४ वर्षभित्र महानगरपालिकाभित्रका सबै बाटोहरूलाई कालोपत्रे गरिसक्ने लक्षका साथ आफु अगाडि बढिरहेको बताउनुभयो ।  महानगरपालिकाले सुरू गरेका रिड्गरोड, लिड्करोड सिटीहल नदीकटान नियन्त्रण जंगली जनावरको नियन्त्रणका लागि महानगरपालिकाले काम सुरू गरिसकेको बताउनुभयो । 

दाहालले आफ्नो एकमात्र उद्देस्य भरतपुर महानगरपालिकाको तीब्र बिकास गर्नुरहेको बताउँदै विकास निर्माणमा सबैको साथ सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । भरतपुर महानगरपालिका विकासको दृष्टिले अत्यन्तै ठूलो अवसर रहेको बताउँदै बितेको एक वर्ष विकास र समृद्धिको ठोस खाका कोर्न तयार रहेको बताउँदै आउँदा दिनहरूमा त्यसलाई कार्यान्वयन गर्दै विकास निर्माणमा गुणात्मक फड्को मार्दै जाने विश्वास  व्यक्त गर्नुभयो । 
फरक प्रसंगमा प्रमुख दाहालले महानगरपालिकाले सुरू गरेको रिड्गरोड र लिंक रोड डीपीआर बिनै हचुवाको भरमा सुरू गरिएको भन्ने हल्लामात्र रहेको बताउँदै डीपीआर भइसकेको स्थानमा काम सुरू भयको र बाँकीस्थानमा डीपीआर र इआइए भइरहेको बताउनुभयो ।
बाटो कालोपत्रे निर्माण उपभोक्ता समितिका  अध्यक्ष खड्कबहादुर थापाले सडक निर्माणको आयव्यय प्रस्तुत गर्नु भएको थियो । स्थानिय समाजसेवी चुडामणि खरेलले वडाको विकास निर्माणलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो । समाजसेवी बेलबहादुर गुरूङले महानगर प्रमुख रेनु दाहालले विकास निर्माण र सहकार्यमा अत्यन्तै समन्वयात्मक ढंगले अगाडि बढाउनुभएकोमा धन्यवाद ब्यक्त गर्दै महानगरबासीले प्रमुख दाहालबाट ठूलो आशा र बिश्वास लिएको बताउनुभयो । कार्यक्रममा समाजसेवी आसबहादुर गुरुङ स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले महानगरपालिका र वडाको विकास निर्माणका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो । 
वडा अध्यक्ष ललितमान तामाङले महानगरीय र वडा स्तरीय बजेटलाई समुदायसँगको सहकार्यमा समयमै सम्पन्न गरिएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि वडाको विकास निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमका सभापति समेत रहेका तामाङले बिकास निर्माणमा जनसमुदायको महत्वपूर्ण भूमिका रहने भन्दै निगरानी खबरदारी र सहयोग निरन्तर गरिरहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस