निर्मला पन्त हत्या प्रकरणले अब कस्तो मोड लिनेछ ? वास्तविक दोषी विष्ट नै हुन् या अरु कोही ?

शुक्रबार, ०८ भदौ २०७५, १० : ४९
निर्मला पन्त हत्या प्रकरणले अब कस्तो मोड लिनेछ ? वास्तविक दोषी विष्ट नै हुन् या अरु कोही ?


चितवन । कञ्चनपुरको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको विषयले कञ्चनपुरवासीलाई कफ्यु र गोलीको समेत अनुभूति दिलायो । निर्मलाको हत्याको वास्तविक दोषीलाई पक्राउ गर्न माग गर्दै पूरै कञ्चनपुर आन्दोलनमा उत्रियो । प्रहरीले दोषी पत्ता लगाउन सकेन् । 
घटनाको २५ दिनपछि घटनाका मुख्य दोषी भन्दै मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दिलिपसिंह विष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक ग¥यो । स्थानीयले विष्टलाई दोषी मानेनन् र झन आन्दोलन चर्काउँदै गए । स्थानीयले गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि कञ्चनपुर प्रशासनले गोलीसमेत चलायो । ४ जना प्रदर्शनकारी घाइते भए । एकको अवस्था गम्भीर छ । गोलीले आन्दोलन शिथिल नभएपछि प्रशासनले कफ्युसमेत लगायो । 
आज बिहानबाट कञ्चनपुरको महेन्द्रनगर बजारमा लगाइएको कफ्यु हटेको छ । तर वास्तविक दोषीलाई प्रहरीले पक्राउ गर्न नसक्दा स्थानीयमा बढेको आक्रोश कत्तिपनि घटेको छैन । यो घटना थप रहस्यमय बन्दै गएपछि स्थानीयको प्रदर्शनले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपीलाई सरुवा गर्न गृहमन्त्रालय बाध्य भयो । 
बिहीबार मात्र कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी लिएर पुगेका एसपी कुबेर कडायतले शुक्रबार बिहानैदेखिबाट कफ्र्यु हटाएको जानकारी दिनुभयो । कञ्चनपुर उग्र आन्दोलनबाट शान्ततर्फ गइरहेको बताउनुभयो । एसपी कडायतका अनुसार, सडकमा सवारी साधन गुडिरहेका छन् । शैक्षिक संस्था, पसल खुलेका छन् ।

स्थानीयल भन्छन्–यसकारणले होइनन् विष्ट दोषी !
निर्मलाको बलात्कारपछि हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ ग¥यो । मानसिक सन्तुलन गुमाएका व्यक्ति, मान्छे देख्दा पर भाग्ने व्यक्ति कसरी दोषी हुनसक्छ भन्दै स्थानीयले आन्दोलन चर्काए । प्रहरीले निर्मलाका प्रहरीलाई विष्टविरुद्ध किटानी जाहेरी दिन भन्यो, तर निर्मलाका परिवारले विष्ट दोषी हुन नसक्ने भन्दै किटानी जाहेरी दिन मानेनन् । जसका कारण निर्मला हत्या प्रकरण प्रहरीको सामु एउटा चुनौती र रहस्यमय बन्दै गइरहेको छ । 
प्रहरीले भनेको मुख्य अभियुक्त निर्मलाको गाउँकै ४१ वर्षीय दीलिप सिंह विष्ट आफ्नै कान्छा भिनाजुको हत्यामा ९ वर्ष कैद भुक्तान गरी निस्किएका व्यक्ति थिए । 
मानसिक सन्तुलन गुमाएको व्यक्तिले बलात्कार गर्न सक्ला ? बलात्कार मात्र होइन । बलात्कारलाई ढाकछोप गर्न हत्या समेत गरिएको छ । मानसिक सन्तुलन पूरै गुमाएको व्यक्तिलाई आफूले बलात्कार गरेपछि प्रहरीले समात्न सक्ला त्यसैले हत्या गर्नुपर्छ भने अपराधी मनोभाव कसरी पलाउन सक्छ ? स्थानीयले यही शंका गरी विष्टलाई दोषी देखेनन् । 
साथीको घरबाट पढेर आफ्नो घर फर्कन क्रममा सडकमा निर्मलाको साइकलको चेन बिग्रेको र विष्टले बनाइदिएपछि बलात्कार गरेको र मान्छे चिन्ने र आफू फेरि समातिने डरले हत्या गरेको प्रहरीको भनाइलाई स्थानीयले पत्याएनन् । 
देख्दै डराउने निर्मलाले विष्टलाई कसरी साइकलको चेन बनाउन दिइन् ? किन कसैले निर्मला कराएको, चिच्याएको सुनेनन् ? सन्तुलन गुमेका विष्टलाई बलात्कार गर्दा कन्डम लगाउनुपर्छ भन्ने ज्ञान कसरी भयो ? पहिलो दिन घटनास्थलमा नभेटिएको कण्डम २४ दिनपछि कसरी भेटियो ? यस्ता प्रश्नहरु राखेर स्थानीयले विष्टलाई दोषी मानेनन् । 
निर्मलालाई विष्टले जबर्जस्ती गरेर उखुबारीमा लग्दा कराइन् होला । रोइन् होला । तर कसैले सुनेनन् । दिउँसै भएको घटना कसैले पनि नदेख्नुले प्रहरीको अनुसन्धानमा शंका पलायो र कञ्चनपुर आजसम्म तातिरह्यो । यी विविध कारणले विष्ट नै दोषी हुन् भनेर प्रहरीले पनि प्रमाणित गर्न सकेन । जसका कारण आज ४ जना अस्पतालको बेडमा छटपटाइरहेका छन् । धेरै जनधनको क्षति भएको छ । 

घटनाले अब कस्तो मोड लिन्छ ?
प्रहरीले देखाएको दोषीलाई स्थानीयले नस्विकार्ने, प्रहरी वास्तकि दोषी यही नै हो भनेर विभिन्न पुष्टि गर्न नसक्नेले निर्मला हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । प्रहरी प्रशासनले अब कुन शिराबाट अनुसन्धान थाल्छ भन्ने मेसो छैन । अथवा पक्राउ परेका विष्टलाई नै मुख्य दोषी भनेर प्रमाणित गर्छ त्यो पनि कुनै भेउ छैन । 
प्रहरी प्रमुख कठायतले स्थानीय र पीडित परिवारलाई भेटेर वार्ताको तयारी थालेका छन् । वार्तामा स्थानीयले के माग गर्ने हुन् या प्रहरी कसरी अगाडि बढ्छ भन्ने विषय यतिबेला गर्भमा रहेको छ । 
सरकारले बिहीबार गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिले पनि यसबारे छानबिन अघि बढाउने बताइएको छ । तर पहिलेको छानविन र अबको छानविन कसरी अघि बढ्छ भन्ने विषय पनि अहिल्यै यसै भन्न सकिन्न । 
भर्खर गएका एसपी कठायतले यतिबेला स्थानीयसँग वार्ता गरेका छन् । उनले वार्तामा स्थानीयलाई कसरी मनाउनेछन् त्यो भने हेर्न बाँकी छ । नयाँ शिराबाट अनुसन्धान गर्न स्थानीयले भन्छन् या अरु केही माग राख्छन् त्यो पनि आउन बाँकी नै छ । गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस