इतिहासकार चित्तरञ्जन नेपालीको निधन

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १० : ४८
इतिहासकार चित्तरञ्जन नेपालीको निधन

काठमाडौं । नेपाली इतिहासकार तथा प्रशासक चित्तरञ्जन नेपालीको निधन भएको छ।

मदन पुरस्कार विजेता समेत रहेका नेपालीको सोमबार काठमाडौंको ओम अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो। उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए।

वि.सं. १९८८ साउन १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा जन्मिएका उनलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’बाट सम्मानित गरिएको थियो।

चित्तरञ्जन नेपालीको खास नाम भने नारायणप्रसाद राजभण्डारी हो। राणा विरोधी आन्दोलनका लागि आफ्नो खास नाम त्यागेर उनले चित्तरञ्जन नेपाली राखेका थिए।

इतिहासकारका रुपमा पनि चिनिने चित्तरञ्जनका ‘जंगबहादुरको कथा’, ‘केही कृति : केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरू’ लगायत पुस्तक पनि प्रकाशित छन्।

साहित्यकारहरू: विजय मल्ल, गोपाल प्रसाद रिमाल, गोविन्दबहादुर मल्ल, श्यामदास वैष्णव उनका समकालीन मित्र हुन् ।

प्रतिक्रिया दिनुहोस