सरकारले उद्योगीको समस्या र अर्थसंकट बुझ्नै सकेन: विष्णु पौडेल

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, १४ : ४७
सरकारले उद्योगीको समस्या र अर्थसंकट बुझ्नै सकेन: विष्णु पौडेल

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले उद्योगी व्यवसायीको समस्या र अहिलेको अर्थसंकट बुझ्नै नसकेको बताएका छन् । सत्ता टिकाउन जस्तोसुकै सम्झौता गर्ने तर कार्यान्वयनमा ध्यानै नदिने प्रवृतिले थप संकट आइलागेको बताउँदै उनले पछिल्लो चिर्कटो सम्झौता त्यसैको उदाहरण भएको बताए ।

रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनको सोमवार बुटवलमा उद्‍घाटन गर्दै उनले राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको आरोप लगाए ।

‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठीक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ १ सरकारको ध्यान यो गठबन्धन जोगिनुपर्यो भन्नेमा मात्र केन्द्रित छ’ उनले भने ।

जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको उनले टिप्पणी गरे । देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार अझै नगरेको पौडेलले बताए । सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी सन्तुष्ट हुने अवस्था नभएको पूर्वअर्थमन्त्रीसमेत रहेको उनको भनाइ छ । उद्योगी र व्यवसायीहरूको टाउकोमा घँगेरूको लाठी बर्साएको उनको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस