चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् ।
पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे । “अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ । तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्”, उनले भो।
वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उहाँको भनाइ छ । उनले थपे, “अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो । यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ ।”
प्रधानमन्त्री दाहालले देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताए । “म प्रधानमन्त्री भएपछि भएका भारत, इटली, संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका क्रम जे सहमति र समझदारी भएका छन्, त्यसले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता, असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई नयाँ उचाइमा पुर्याएको छ”, उनले भने ।
वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधीनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनसँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए । संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असोज २०८०, २० : ०७
लेखकबाट थप