बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १५ : ४४
बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

गलकोट । भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राएका छन् । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएका हुन् ।

 

लामो समयदेखि दसैँ र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रु ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए । उनका अनुसार एउटाको मूल्य रु ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रु ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो । 

 

“अहिले रोज्जा च्याङ्ग्रा रु ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु पर्‍यो । मुस्ताङबाट ल्याउँदा दुःख धेरै छ”, उनले भने, “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउँदा मुस्ताङका च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।” थापाले मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याएका हुन् । 

 

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन् । 

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताए । 

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस