नयाँ सञ्चालक र लेखा समिति चयन गर्दै 'मनिप्लान्ट'को १४ औं साधारणसभा सम्पन्न

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, ११ : ५३
नयाँ सञ्चालक र लेखा समिति चयन गर्दै 'मनिप्लान्ट'को १४ औं साधारणसभा सम्पन्न

काठमाडौं। मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मान्यता आधारित भएर क्रियाशील मनिप्लान्ट सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ लिमिटेडको १४ औं साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख आतिथ्यमा आइतवार सम्पन्न भएको हो ।

अध्यक्ष सुदर्शन पराजुलीले राजीनामा दिएसँगै इन्द्रमणि पोखरेल नयाँ अध्यक्ष चयन भएका छन् । सञ्चालक समितिमा सुशन कर्माचार्य उपाध्यक्ष, उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी छन् ।

लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य चयन भएका छन् ।साधारणसभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत र पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा भएको थियो।

 

साथै, संस्था सम्बद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो।

त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा तीन(तीन जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो। एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। लालिगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँटका विद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

अध्यक्ष पोखरेलले सफल कार्यसम्पादनका लागि अघिल्लो सञ्चालक समितिलाई धन्यवाद दिँदै  सहकारी क्षेत्रको संस्थागत चुनौतीबीच आफू सञ्चालक समितिमा आएको र सबैको हातेमालोबाट नै चुनौतीको सामना गर्न सकिने बताए । संस्थाको सेयर सदस्य संख्या १ हजार एक सय ८२ पुगेको र पछिल्लो आवको कुल वासलत एक अर्ब २१ करोड १७ लाख ३६ हजार ८ सय ५२ रुपैयाँ रहेको कार्यकारी प्रमुख ओमबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस