तीजको मुखमा सुनचाँदी व्यवसायीको आन्दोलन जारी, दुई दिन बन्दका कार्यक्रम थप

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १८ : ०१
तीजको मुखमा सुनचाँदी व्यवसायीको आन्दोलन जारी,  दुई दिन बन्दका कार्यक्रम थप

चितवन । चितवन सुनचाँदी व्यवसायीले आजसम्म गरेको बन्दको कार्यक्रम भोलि र पर्सि पनि जारी राखेको छ । मागअनुसारको सुन पाइने कुनै ग्यारेन्टी नभएपछि चाडको मुखमा सुनचाँदी व्यवसायी संघले आन्दोलन लम्बाएको हो । 
‘हामी सुनचाँदी पसल बन्द गरी आन्दोलन लम्व्याउने सोचमा थिएनौँ, तर बाध्य भएर फेरि दुई दिन पसल बन्दका कार्यक्रमलाई लम्बाएका छौँ’ सुनचाँदी व्यवसायी संघका अध्यक्ष जीवनज्योति सदाशंकरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘माग पूरा हुने आश्वासन आएको थियो, तर चितवनले कति सुन पाउने भन्ने केही पत्तो भएन, त्यसैले बन्दलाई बढाएका हौँ । 
माग बमोजिमको सुन नपाएपछि चितवनका सुन चाँदी व्यवसायीहरुले तीनदेखि आन्दोलनमा छन् । आज पनि यहाँको सुन पसलहरु बन्द थिए ।  सुन किन्न नपाएका उपभोक्ताहरु भन्छन् ‘कहिले खुल्छ चितवनको सुन पसल ? 
‘चाडबाड मुखमा आइसक्यो, सुन पसल कहिले खुल्छ थाहा नै छैन’ भरतपुर १० की उपभोक्ता रमिला पाण्डेले भनिन् । 
चितवन सुनचाँदी व्यवसायी संघले चितवनमा भएका ५ सय पसलहरु बन्द भएको जानकारी दिएको छ । विभिन्न सम्बन्धित निकायहरुमा उनीहरुले ज्ञापनपत्र समेत बुझाएका छन् ।  सुनमा सिण्डिकेट भएका कारणले भनेजति सुन नपाउँदा चितवनका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका हुन् । ‘सुनमा सिण्डिकेट छ, यो खारेज नभएसम्म हामी विभिन्न चरणबद्ध तरिकाले आन्दोलनमा होमिने निर्णय गरेका हौँ, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले भन्नुभयो ।
संघका अध्यक्ष जीवनज्योति सदाशंकरले सरकारसँग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराउन आग्रह गरे पनि कुनै सुनुवाई नभएपछि पसल नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । 
चाडबाडको बेला सुनको माग बढी हुन्छ । राष्ट्र बैंकले भनेजति सुन नपठाउँदा सुन व्यवसायी मर्कामा परेका हुन् । राष्ट्र बैंकले दिनको २० किलो सुन ‘क’ वर्गका कमर्सियल बैंकमार्फत सुन पठाउने गर्छ । त्यो सुनको ६० प्रतिशत सुन काठमाडौँ उपत्यकामा मात्र पठाउँछ । ४० प्रतिशत सुन काठमाडौँ बाहिर पठाउँछ । चितवनमा माग अनुसारको सुन आउने ग्यारेन्टी भए बन्द फिर्ता लिने अध्यक्ष सदाशंकरले बताए । 
२०६८ सालदेखि राष्ट्र बैंकले क वर्गको बैंकमार्फत सुन पठाउँदै आएको छ । सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष विपीन रामुदामुले सीधै राष्ट्र बैंकमार्फत सुन किन्न पाउने व्यवस्था गरे व्यवसायमा प्रतिस्पर्धा हुने बताए । 
 

प्रतिक्रिया दिनुहोस