टिकापुर घटनाको यथार्थ छानबीन गर्न सरकारलाई थरुहट संघर्ष समितिको दबाब

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १७ : ४२
टिकापुर घटनाको यथार्थ छानबीन गर्न सरकारलाई थरुहट संघर्ष समितिको दबाब

काठमाडौँ । थरुहट संघर्ष समितिले टिकापुर घटनाको यथार्थ छानवीन गर्न सरकारलाई पुनः दवाव दिएको छ ।  टिकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिकी संयोजक रुकमणि चौंधरीले टिकापुर घटनाको यथार्थ छानवीन गर्न सरकारलाई पुनः दवाव दिनु भएको हो ।
उहाँले टिकापुर घटनाको अभियोगमा बन्दी जीवन बिताईरहेका २६ जना बन्दीहरुको तत्काल रिहा गर्न पनि सरकारसँग माग गर्नु भयो । पूर्व सांसद समेत रहनु भएकी चौंधरीले सरकारले टिकापुर घटनाका पीडितलाई न्याय दिन नचाहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । उहाँले टिकापुर घटनाका पीडितलाई राहतको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद हरिराम चौंधरीले टिकापुर घटनालाई अपराधिकरण नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले टिकापुर घटनामा निर्दोष नागरिकलाई यातना दिने काम अन्त्य गरेर सो घटनाको यथार्थ छानवीन गर्न सरकारलाई सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गर्नु भयो ।
२०७२ साल भदौं ७ गते टिकापुरमा भएको हिंसात्मक झडपमा परी एक बालक र एसएसपीसहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो । सोही घटनाको मुख्य योजनाकारको आरोप लगाइएका रेशम चौंधरीसहित २६ जेल जीवन बिताईरहेका छन ।
 

प्रतिक्रिया दिनुहोस