एमाले मधेश प्रदेश अधिवेशन: २४२ सदस्यीय प्रदेश समितिका लागि ३९८ जनाको उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १० : २३
एमाले मधेश प्रदेश अधिवेशन: २४२ सदस्यीय प्रदेश समितिका लागि ३९८ जनाको उम्मेदवारी

जनकपुर । नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको  प्रयास भइरहेको छ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ।

अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को एकल उम्मेदवारी परेको छ ।

त्यसैगरी लेखा आयोगको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । जीतेन्द्र पासवान (महोत्तरी), लक्ष्मीनारायण यादव (धनुषा) र परमेश्वर रजक (महोत्तरी) को उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत खड्काले बताए। लेखा समिति सचिवमा भने सिरहाका दीपेन्द्र महतोको एकल उम्मेदवारी परेको छ ।

दुई सय ४२ सदस्यीय प्रदेश समितिका लागि आठ जिल्लाबाट तीन सय ९८ जनाको उम्मेदवारी परेको छ।

‘अहिले पाँच सदस्यीय पदाधिकारीमा सबै पदमा एकल उम्मेदवारी परेको छ । सदस्यमा धेरै जनाको उम्मेदवारी परेको छ । सहमति नभए निर्वाचन समितिले आवश्यक प्रक्रिया अवलम्बन गर्छ,’ प्रमुख निर्वाचन अधिकृत खड्काले भने।

‍एमाले केन्द्रीय सचिव रघुवीर महासेठले पनि धेरै उम्मेदवारी परेका जिल्ला र पदका विषयमा सम्बन्धित पक्ष एवं जिल्लागत रुपमा छलफल गरी सहमतिको प्रयास जारी रहेको जानकारी दिए।