जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ ।
जयगोविन्द साह अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।(रासस)
मन्त्री पोखरेलले अब विद्यालयमा राजनीति र टे«ड युनियनको कुरा नगरी प्राविधिक शिक्षाको संस्कृति निर्माणतर्फ उन्मुख हुनु जरुरी छ भन्नुभयो ।
उहाँले सरकारले विगतमा भएका विसङ्गतिलाई हटाउने धेयले अनिवार्य शिक्षा ऐन ल्याउन लागेको जानकारी दिनुभयो । सरकारी विद्यालयको अवस्था ज्यादै खराब भएका कारण यसका सुधारका लागि सबैको गहन जिम्मेवारीको आवश्यकता छ भन्दै अब विद्यालयमा सुयोग्य शिक्षक राख्ने प्रणालीको विकास अपरिहार्य भइसकेको उहाँले बताउनुभयो ।
सरकारले फरक क्षमता भएका विद्यार्थीका लागि फरक विद्यालय खोल्ने तयारी गरिरहेको जानकारी गराउँदै शिक्षामन्त्रीले अबको साक्षरता अभियानलाई पूर्णरूपले सफल बनाउन सबै निकाय अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, शिक्षक र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस