काठमाडौँमा ट्याक्सी ड्राइभरले पहेँलो ज्याकेट लगाउनैपर्ने नियम राखेपछि चितवनमा पनि पहल

विहीबार, ०७ भदौ २०७५, ०९ : ४०
काठमाडौँमा ट्याक्सी ड्राइभरले पहेँलो ज्याकेट लगाउनैपर्ने नियम राखेपछि चितवनमा पनि पहल

 

चितवन । उपत्यकाका ट्याक्सी ड्राइभरहरुले भदौ ६ देखि अनिवार्य रुपमा पहेँलो कलरको ‘फ्लोरेसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएपछि चितवनमा जिल्लामा पनि यस विषयमा पहल गरिएको छ । राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ‘फ्लोरेसेन्ट ज्याकेट’ अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू भएसँगै चितवनमा पनि कसरत गरिएको हो ।  

उपत्यकाका ट्याक्सी ड्राइभरहरुका लागि छुट्टै ड्रेस तय गर्ने विषयमा पटकपटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि पहेँलो कलरको ‘फ्लोरेसेन्ट ज्याकेट’को अवधारणा आएको हो । 

ट्याक्सी चालकलाई अनिवार्य रुपमा ज्याकेट लगाएर ट्याक्सी नचलाए कारबाही गर्न थालिएको छ । 

‘काठमाडौँभन्दा अगाडि नै चितवनमा मैले यो व्यवस्था ल्याउन खोजेको थिएँ, तर काठमाडौँले जित्यो’ चितवन जिल्ला ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले भन्नुभयो । उहाँका अनुसार चितवनमा पनि अटो रिक्सा, म्याजिक र ट्याक्सी चालकलाई पहेँलो कलरको ‘फ्लोरेसेन्ट ज्याकेट’को अवधारणा ल्याइनेछ । उहाँले भन्नुभयो, ‘यस विषयमा मैले पहिलेदेखि पहल गरिरहेको छु, काठमाडौँमा भएपछि यहाँ थप दबाब बढ्यो अब यहाँ पनि गर्नुपर्छ । 
चालकको पहिचान झल्किने गरी सम्बन्धित संघहरुसँग बसेर छलफल गरी  ज्याकेट लगाउनु पर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो । 

काठमाडौँमा यो व्यवस्थाको लागि ट्याक्सी व्यवसायी संघ नै तातेको थियो । काठमाडौँमा संघले एउटै रंगको ज्याकेट व्यवस्था गरेको छ । त्यसलाई न्यूनतम मूल्यमा खरिद गरेर उनीहरुले लगाउनेछन् ।’
महानगरीय ट्राफिक महाशाखाले  काठमाडौँ सुन्धाराका अनुसार सार्वजनिक सवारीमा यात्रुमाथि चालक र सहचालकबाटै दुव्र्यवहार हुने गरेको गुनासो आउने गरेपछि काठमाडौँमा यस्तो व्यवस्था गरिएको हो । जिल्ला ट्राफिक प्रमुख गौतमका अनुसार ज्याकेटको व्यवस्थाले  सर्वसाधारणले चालकको पहिचान गर्नेछन् भने चालकहरु पनि आफ्नो पेशाप्रति उत्तरदायी बनाउनेछ । ‘हामी जिल्लामा पनि ज्याकेट अनिवार्य बनाउने नियम बसाल्ने कसरत गरिरहेका छौँ’ प्रमुख गौतमले भने, ‘अनुशासन देखाउन पनि यो नियम आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस