काठमाडौँ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले बुधबार सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि बिहीबार (असोज २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
असोज २६ मा राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र ०८८ ‘घ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बजारमा पर्याप्त तरलता रहेको भन्दै राष्ट्र बैंकले दोस्रो त्रैमासका लागि तय गरिएको विकास ऋणपत्र अघि सारेर अहिले आन्तरिक ऋण उठाइरहेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ५५–५५ अर्ब रुपैयाँका दरले आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको योजना थियो । तर, अहिले सम्म ८७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ भने, बाँकी १० अर्बका लागि बोलकबोल आह्वान गरेको छ । आह्वान गरेको ऋणपत्र पनि बिक्री भएपछि सरकारले कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने छ । जसमध्ये करिब ४५ अर्ब रुपैयाँ दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण हो ।
आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको थियो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तरिक ऋण सङ्कलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । तर, हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण पनि अहिले धमाधम उठाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट