निर्मला हत्याको नखुलेको पाटो, विवादमा प्रहरी अनुसन्धान, निर्मलाका बाबु भन्छन् : एसपीले अपराधी बचाउन खोजे, न्याय चाहियो

पत्रपत्रिकाबाट

विहीबार, ०७ भदौ २०७५, ०७ : ४८
निर्मला हत्याको नखुलेको पाटो, विवादमा प्रहरी अनुसन्धान, निर्मलाका बाबु भन्छन् : एसपीले अपराधी बचाउन खोजे, न्याय चाहियो

महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द गरेका छन् ।
मंगलबारको प्रदर्शनमा प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि रहेका स्थानीयवासीमाथि लक्षित गर्दै अश्रुग्याँस प्रहार गरेपछि त्यसको चर्काे विरोध भइरहेको छ ।
प्रहरीले निर्मला हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले नयाँ रूप लिएको छ । प्रहरीले विष्टलाई मुख्य दोषी भनेपछि आन्दोलनको राप झन् बढ्दै गएको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्दा स्याबासी पाउनुपर्ने हो तर उल्टै नागरिकले प्रहरी अनुसन्धानमाथि नै प्रश्न खडा गरेका छन् ।

कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले निर्मला हत्याका मुख्य अभियुक्त भनेका दिलिप मानसिक रूपमा स्वस्थ नभएका व्यक्ति हुन् । २०६५ सालमा आफ्ना भिनाजुलाई चिर्पट प्रहार गरेर हत्या गरेपछि करिब १० वर्ष जेल सजाय भुक्तान गरी उनी २०७४ सालको जेठमा छुटेका थिए । राष्ट्रपतिबाट कैद मिनाह पाएर उनी छुटेका थिए । पारिवारिक रूपमा दिलिप गरिब परिवारका सदस्य हुन् । उनी भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका उनी होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । भिनाजुको हत्या अभियोगमा जेल बसेर निस्केपछि दिलिप मानसिक रूपमै समस्याग्रस्त रहेका उनका दाजु खडक विष्टले बताए । अत्यन्तै कमजोर शारीरिक अवस्था भएका दिलिपले गाँजा सेवन गरे पनि मदिरापान भने एकदमै कम गर्ने गरेको खन्ना चौराहका उनका साथी दिलिप थापाले बताए ।

खन्ना चौराहामा भेटिएका स्थानीय बासिन्दाहरुले दिलिपले यसअघि कुनै पनि महिलालाई दुव्र्यवहारसमेत नगरेको बताएका छन् । छिमेकी खेमा सुवेदीले भनिन्, ‘प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग थिएन ।’ सुवेदीका अनुसार दिलिप शारीरिक भार पर्ने कुनै पनि काम गर्न सक्षमसमेत थिएनन् । ‘एक अँगालो दाउरा पनि बोक्न सक्दैनथे,’ सुवेदीले भनिन्, ‘सानो काम गर्दा पनि उनलाई स्वाँस्वाँ हुन्थ्यो ।’
निर्मलाका बाबु यज्ञराज पन्तका अनुसार दिलिप घटना भएको दिन र राति घरमै थिए । यो अवस्थामा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिएका उनी वास्तविक हत्यारा हुन् भन्नेमा आशंका देखिन्छ ।

चार सातासम्म चित्तबुझ्दो जवाफ र अनुसन्धान नगरेको प्रहरी एकाएक ४ भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजका अनुसार प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्ने जानकारी गरायो । यज्ञराज पनि घटनास्थल गए । उनी भन्छन्, ‘घटनास्थलमा गएको २ मिनेटमै प्रमाण भेटियो भन्दै प्रहरी चिच्याए, अनि सर्टको खल्तीको कपडा र कन्डम बरामद गरियो ।’
रहस्यको विषय के छ भने १० साउनदेखि प्रहरी, स्थानीय, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सीआईबीको टोली पटकपटक घटनास्थल पुग्दा नभेटिएको कपडालगायतका सामग्री अहिले त्यहाँ कसरी भेटियो ? प्रहरीले बलात्कारी भनिएका दिलिपकै सर्ट भएको दाबी गर्दै आएको छ ।
दिलिपको पारिवारिक स्रोतका अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लगाउने गरेको सर्ट मागेर लगेको थियो । पछि त्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो ।

दिलिप हत्यारा हुँदै होइनन् : मृतक निर्मलाका बाबु

निर्मला पन्तका बाबु यज्ञराज प्रहरीले दिलिपलाई देखाएर वास्तविक हत्यारालाई बचाउन खोजेको आरोप लगाउँछन् । उनले भने, ‘कञ्चनपुरका एसपी डिल्लीराज विष्टले मलाई थर्काइरहेका छन्, जबर्जस्ती दिलिपको नाममा किटानी जाहेरी गर्न दबाब दिइरहेका छन् ।’
यसअघि पनि कञ्चनपुरका एसपी विष्टले आफूलाई निर्मलाको शव नबुझे महेन्द्रनगरमा कर्फ्यु लगाएर गोली हान्ने चेतावनी दिएको बताए । त्यसो त एसपी पन्तले यसअघि उखुबारीमा बलात्कार नभएको तर आसपासमा भएको हुन सक्ने बताउँदै आएका थिए ।
‘घटनास्थलको प्रकृति हेर्दा उखुबारीमा बलात्कार भएको देखिन्न किनभने घटना भएको भनिएको स्थानमा प्रत्येक १ मिनेटमा कोही न कोही हिँडिरहेकै हुन्छ । न त त्यो घना जंगल भएको क्षेत्र हो न त भौगोलिक विकटताको क्षेत्र नै,’ एसपी विष्टले अनौपचारिक कुराकानीमा भनेका थिए ।

यस्तो थियो घटनाको पृष्ठभूमि

१० साउनको बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी १३ वर्षीया निर्मला पन्त भीमदत्त नगरपालिका–१८ स्थित साथी रोशनी बमको घर गइन् । कक्षा ९ मा सरस्वती माविमा अध्ययनरत निर्मला रोशनीको घरमा विज्ञान विषयको पुस्तिका लिन गएकी थिइन् । साँझसम्म पनि घर नफर्किएपछि आमा दुर्गाले निर्मलाको सोधखोज गर्न थालिन् ।
निर्मला नआएपछि उनकी आमा रोशनीकै घरमा पुगिन् । दिउँसो २ बजे नै निर्मला अम्बा लिएर घर गइसकेको जानकारी रोशनी र उनकी दिदी अनिताले दिए । तर, आमाको मन मानेन र छोरीको खोजी गर्न थालिन् । एकछिनपछि फेरि दुर्गा राशनीकै घरमा पुगिन् र भित्र हेर्न अनुमति मागिन् । तर रोशनीकी दिदी अनिताले घरभित्र हेर्न दिइनन् । बरु ‘तिम्री छोरी पोइल गएकी होली’ भनेर उडाइन् । निर्मलाका आफन्तजनले वडा प्रहरी कार्यालय र प्रहरी बिट सालघारीमा खबर गरे ।

निर्मलाकी आमा दुर्गा भन्छिन्, ‘प्रहरीले फोटो लिएर भोलि बिहान आउनु भनेर टा¥यो ।’ रातको १२–१ बजेसम्म निर्मलाकी आमा र आफन्त प्रहरी बिट सालघारीमै बसिरहे । बाहिर पानी दर्किरहेको थियो । प्रहरीले रोशनी बमको घरमा कुनै तलासी गरेन । भोलिपल्ट बिहान फेरि निर्मलाकी आमासहितका गाउँले रोशनीको घरमा पुगे । गाउँलेहरु जम्मा भएकै बेला एक जनाले खोला किनारमा साइकल भेटियो भन्ने खबर सुनाए । निर्मलाकी आमा दुर्गा भन्छिन्, ‘साइकल भेटियो भन्नेबित्तिकै रोशनीकी दिदी बबिता भन्ने अनिताले साइकल भेटिए लाश पनि त्यतै होला भनिन् ।’
दुर्गाको प्रश्न छ, ‘साइकल भेटियो भन्दा लाश त्यतै होला भनेर अनिताले कसरी दाबी गर्न सकिन् ?’ सर्वसाधारणको आशंका पनि यसैमा छ । नजिकै रहेको उखुबारीमा निर्मलाको शव भेटियो । निर्मलाले साथीको घरबाट लगेको अम्बा, विज्ञान विषयको पुस्तिका र चप्पल पनि घटनास्थलमै भेटियो । पीडितका आफन्तले शव उठाए । तर, कतिपयको भनाइमा– निर्मलाको शव पाइएको स्थानमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट नआएको आक्रोशमा निर्मलाको शव केहीबेर नगरपालिकाको गेटमा राखिएको थियो । प्रहरीले अहिले घटनालाई अन्तै मोडेको स्थानीयवासी आरोप लगाउँछन् ।
जानकारहरुका अनुसार रोशनी बम परिवारको प्रहरीमा उच्च अधिकारीहरुसँग पारिवारिक सम्बन्ध छ । त्यसैले पनि प्रहरीले बबितालाई कहिल्यै शंकाको घेरामा राखेन । निर्मलाका बाबु भन्छन्, ‘अहिले प्रहरीले बम परिवारमाथि किटानी दिन भनिरहेको छ तर घटनाका सबै प्रमाण मेटाइसकिएको छ, घटना अन्तै मोडिएको छ, अब जाहेरीले के गर्नू ?’

गृहमन्त्रीलाई झुटो सूचना

सांसदहरुले निर्मला हत्याकाण्डको विषय उठाएपछि गृहमन्त्री रामबहादुर थापाले जवाफमा घटनामा संलग्न दुई जना पक्राउ परेको बताएका थिए । कञ्चनपुर प्रहरीका एसपी विष्टले कैलालीको मोहन्याल गाउँपालिका–५ का २२ वर्षका जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको जानकारी गृह मन्त्रालयमा दिएका थिए । त्यसैका आधारमा गृहमन्त्रीले संसद्मा सांसदहरुलाई जवाफ दिएका थिए ।
पक्राउ परेका दुवै जना पछि छुटे । पक्राउ परेका मध्ये एक जना एचआईभी संक्रमित रहेको बताइएको छ । अर्का एक जना मानसिक सन्तुलन ठीक नभएका युवा हुन् । यस्तो अवस्थामा कञ्चनपुर प्रहरीले गृहमन्त्री थापालाई झुटो सूचना दिनुका पछाडिको नियत आशंकाको घेरामा रहेको स्थानीय बताउँछन् । पोस्टमार्टम रिपोर्टमा निर्मलाको हत्या घाटी थिचेर भएको पाइएको छ ।

नागरिक समाज आन्दोलित

निर्मला पन्तको घटनाको न्यायिक छानबिनको माग गर्दै कञ्चनपुरमा गत ११ साउनदेखि नै आन्दोलन चर्किएको थियो । तर पछिल्लो समय आन्दोलन व्यापक बन्दै गएको छ । प्रहरीले हत्यारा भन्दै अभियुक्तका रूपमा दिलिपलाई सार्वजनिक गरेपछि व्यापारीहरुले प्रहरीले वास्तविक हत्यारा लुकाउन खोजेको भन्दै आफैं व्यवसाय बन्द गरेका छन् । स्थानीयहरु गाउँ–गाउँबाट सदरमुकाम पुग्न थालेका छन् ।
दुई दिनदेखि व्यापारीहरुले बजार, व्यवसाय बन्द गरेर आन्दोलनमा साथ दिइरहेका छन् । नागरिक समाज कञ्चनपुरले पनि विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । नागरिक समाजका अध्यक्ष भवराज रेग्मी घटनाको न्यायिक छानबिन गर्न दबाब दिन आन्दोलन घोषणा गरिएको बताउँछन् । नागरिक समाजले धर्ना जारी राखेको छ भने दलहरुलाई दबाब दिने, ध्यानाकर्षण गराउनेलगायतका कार्यक्रम पहिलो चरणमा अघि सारेको छ ।

गृहमन्त्रीका सल्लाहकारको हलुका टिप्पणी

गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नेकपाका नेता सूर्य सुवेदीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको प्रदर्शनलाई इंगित गर्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, ‘पश्चिम नेपालका एकथरी मान्छेहरु बलात्कारी रिहा गर भन्ने नारा लगाइरहेका छन् त ! अचम्म ।’ गृहमन्त्रीका राजनीतिक सल्लाहकारले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुले एउटा कुरा प्रस्ट पारेको छ कि नागरिकले जतिसुकै हत्याबारे आशंका, आँकलन र आरोप लगाउँदैनन्, सरकार प्रहरीको अनुसन्धानभन्दा दायाँबायाँ छैन र नागरिकले मागिरहेको निष्पक्ष छानबिनको पक्षमा छैन ।

हत्पतमा लतपत ग¥यो प्रहरीले

विश्वास नै नलाग्ने वातावरण बनायो प्रहरीले । न तर्क दियो, न प्रमाण । अत्तालिएका थिए प्रहरी अधिकारीहरु ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न भएको भन्दै सोमबार भीमदत्त नगरपालिका–१९ बस्ने ४१ वर्षीय दिलिपसिंह विष्टलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । यो सार्वजनिकीकरणपछि प्रहरी झन् आलोचित हुन पुगेको छ । दिलिपले नै बलात्कारपछि निर्मलाको हत्या गरेको प्रहरी दाबी अत्यन्त अविश्वसनीय भएकाले निर्मला हत्याकाण्ड झन् रहस्यमयी बनेको छ ।

मानसिक अवस्था बिग्रेका विष्टलाई प्रहरीले प्रलोभनमा पारेर थुनामा पु¥याएको परिवारजनको आरोप छ । सार्वजनिक गर्नका लागि प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलन ‘नौटंकी’ मात्रै भएको सञ्चारकर्मीहरुको बुझाइ छ । प्रहरीको यो दाबीप्रति जनमानसले समेत अविश्वास प्रकट गरिरहेको छ । प्रहरीले आधार नै खुलाउन नसकिने गरी नाटक रचेको भन्दै आन्दोलन झन् चर्कने सम्भावना देखिएको छ ।

प्रहरीले नाटकीय तरिकाले घटना ढाकछोप गर्ने प्रयास गरिरहेको अनुभव गरिएकै बेला पत्रकार सम्मेलनमा एसपी डिल्लीराज विष्ट अत्यन्त ‘नर्भस’ देखिएका थिए । उनले घटना सम्बन्धमा पत्रकारहरुले गरेका कुनै पनि प्रश्नको जवाफ दिएनन् । उपस्थित पत्रकारले एसपी विष्टले नाटक मञ्चन गरिरहेको आरोपसमेत लगाएका थिए ।
निर्मला हत्याकाण्डको प्रकरणमा चर्चामा आएका बम दिदीबहिनीबारे पत्रकारहरुले गरेको प्रश्नलाई एसपी विष्टले टाल्दै भने, ‘त्यो पछिको कुरा हो, पछि नै थाहा हुन्छ ।’ एसपी विष्ट पत्रकार सम्मेलन टुंग्याउने हतारोमा देखिएका थिए । उनले पत्रकारहरुको एउटा प्रश्नको पनि सन्तोषजनक जवाफ दिएनन् । प्रत्येक प्रश्नमा उनको उत्तर थियो, ‘अहिले भन्न मिल्दैन ।

आधार नै प्रस्तुत गरेन प्रहरीले

प्रहरीले मानसिक रूपमा अस्वस्थ दिलिपलाई पेस गर्न समेत ठाउँ नहुने गरी एसपीकै कार्यकक्षमा पत्रकार सम्मेलन बोलाएको थियो । मुकुण्डो लगाइएका दिलिपलाई फोटो खिच्नका लागि उपस्थित गराइए पनि पत्रकारहरुलाई फोटो खिच्न हम्मे परेको थियो । एसपी विष्टले पत्रकारहरुका सबै प्रश्नको उत्तर छलेका थिए । उनलाई सोधिएका सबै प्रश्नको उत्तरमा उनले ‘अहिले भन्न मिल्दैन’ भने । उनले दिलिप मानसिक अवस्था बिग्रेको व्यक्ति भएको आफूलाई थाहा नभएको बताए ।

प्रहरीले आइतबार निर्मलाको साइकल पाइएको ठाउँभन्दा ५० मिटर पश्चिम साँझ करिब ८ बजे हातमा लट्ठी लिएर उभिएको अवस्थामा दिलिपलाई पक्राउ गरिएको सञ्चारकर्मीहरुलाई वितरित विज्ञप्तिमा उल्लेख छ । साइकल पाइएको ठाउँभन्दा ५० मिटर पश्चिम धानखेत छ । दिलिपका परिवारजनको भनाइअनुसार उनलाई प्रहरीले शुक्रबार नै महेन्द्रनगर बजारबाट घर आउँदा पक्राउ गरेको हो ।

एसपी विष्टले पत्रकार सम्मेलनमा दिलिपले दिएको बयानअनुसारको घटना वृत्तान्त पनि बताएनन् । उनले ‘प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं’ मात्र भने । पत्रकार सम्मेलनमा सीआईबीका डीएसपी अंकर जोशी उपस्थित भए पनि केही बोलेनन् । पत्रकार सम्मेलनमै केही पत्रकारले नौटंकी गरेको आरोप पनि लगाएका थिए ।

शव भेटिएको बाटो दिलिप हिँड्दैनथे

जेलमुक्त भएपछि दिलिप प्रत्येक दिन बिहान ८ बजे अगावै महेन्द्रनगर बजार आउने र रात परेपछि मात्रै घर फर्कने गरेको प्रहरीको दाबीलाई दाजु खडक विष्टले सत्य भएको बताएका छन् । खडकका अनुसार प्रहरीले दाबी गरेझैं उनी निर्मलाको शव फेला परेको स्थान भएर जाने बाटो भने कहिल्यै प्रयोग गर्दैनथे । दिलिपका दाजु, साथी र टोलवासीका अनुसार दिलिप ३ किलोमिटर छोटो पर्ने खैरभट्टीको बाटोबाट मात्रै ओहोरदोहोर गर्थे । ‘खैरभट्टी हुँदै आउने जाने गथ्र्यो,’ साथी थापाले भने, ‘खोल्टीको बाटो हिँडेको थाहा नै छैन ।’

महेन्द्रनगरबाट खैरभट्टी हुँदै खन्नाचौराहा पुग्ने बाटो महेन्द्रनगरबाट खोल्टी हुँदै खन्नाचौराहा पुग्ने भन्दा करिब ३ किलोमिटर छोटो छ । दिलिप जहिल्यै पैदल हिँड्ने भएकाले उनले छोटो बाटो नै प्रयोग गर्ने गरेको उनका दाजु, साथीहरु र टोलका बासिन्दाको भनाइ छ ।

पक्राउ परेका दिलिप माग्दै हिँड्ने गर्थे । महेन्द्रनगर बजारमा उनलाई चिन्नेहरु पनि प्रहरीको दाबी अविश्वसनीय रहेको बताउँछन् । दिलिपको मानसिक मात्रै नभई शारीरिक अवस्थासमेत बलात्कार गर्न सक्ने नरहेको उनलाई चिन्नेहरु बताउँछन् । ‘कुखुरा मार्न सक्ने बल र बुद्धि छैन उसमा,’ छिमेकी सुवेदीले भनिन्, ‘१३ वर्षकी किशोरीमाथि आक्रमण गर्ने, घिसारेर खोलो तार्दै ५० मिटर टाढा लैजाने बल उसमा छँदै थिएन ।’

प्रहरी अत्तालिँदा उल्टो फसाद

प्रहरीले तीन दिनअगाडि नै दिलिपलाई पक्राउ गरेको थियो । उनलाई करिब ४८ घण्टा गैरकानुनी थुनामा राखेका खबर चुहिएपछि सोमबार प्रहरीले हतारमा उनलाई जिल्ला अदालतमा उपस्थित गराई सोमबार न्यायिक हिरासतमा लिएको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार दिलिपको बयानसमेत लिइएको छैन ।
गैरन्यायिक हिरासतको अभियोग लाग्ने सम्भावना बढेपछि १० दिनको म्याद थपेर हिरासतमा राखिएका दिलिपलाई सार्वजनिक गर्ने क्रममा प्रहरीले पत्रकारहरुलाई आइबार मात्रै दिलिप पक्राउ परेको लिखित सामग्री वितरण गरे पनि शुक्रबार प्रहरीले दिलिपलाई नियन्त्रण लिएको दृश्य देख्नेहरु पनि प्रशस्तै छन् । उनीहरुले अदालतमा बयान दिन आफूहरु तयार रहेको बताएका छन् ।
हत्याकाण्डको छानबिनका लागि आएको सीआईबीको टोलीसमेत अब आलोचनामा पर्ने देखिएको छ । प्रहरीले शुक्रबार नै हिरासतमा लिएको व्यक्तिलाई सीआईबीसमेतको उपस्थितिमा आइबार निर्मलाको शव भेटिएको स्थानबाट नियन्त्रणमा लिइएको प्रेषित सामग्रीमा उल्लेख छ ।

यस्तो प्रपञ्च प्रहरीको

मानसिक रोगी दिलिपलाई पक्राउ गरे पनि पर्याप्त प्रमाण नहुँदा निर्मलाका बाबुलाई सोमबार प्रहरीले बोलाएर दिलिपविरुद्ध जाहेरी दिन दबाब दिएको थियो । उनका अनुसार दिलिपको अनुहारसमेत नदेखाई प्रहरीले जाहेरीमा दस्तखत गर्न भनेको थियो । ‘सीआईबीले बागफाँटाको मान्छे हो जाहेरीमा दस्तखत गर्नुस् हामीलाई सजिलो हुन्छ भन्यो,’ उनले भने, ‘नाम पनि बताएन ।’ तर पत्रकार सम्मेलनमा एसपी विष्टले पन्तलाई त्यस्तो दबाब नदिइएको दाबी गरे ।
सोमबार सीआईबीका अधिकारीहरुले निर्मलाका बाबुलाई जाहेरीमा दस्तखत गर्न दबाब दिँदा प्रहरीले उनलाई सुनाएको कथा रोचक छ । बाबु यज्ञराज पन्तका अनुसार प्रहरीले दिलिपको बयान भन्दै यस्तो कथा सुनाएको छ ।

‘साउन १० गते म बजारबाट घर गइरहेको बेला निम्बुखेडाको सो ठाउँमा निर्मलाको साइकलको चेन फुत्किएको हुँदा उनले मलाई चेन बनाइदिन अनुरोध गरिन् । मैले चेन बनाउन खोज्दा उनको शरीर छुन पुगें र म उत्तेजित भएँ । साइकलको चेन बनाएपछि मैले साइकल चलाएँ, उनी बसिन् । केही पर मैले जानीजानी साइकल खोलामा फ्याँकेँ । फ्याँकिएको साइकल उठाउन मैले आग्रह गर्दा उनले अम्बाको पोलिथिन र किताब खोलाको छेउमा राखेर मलाई सहयोग गर्न हात दिइन् । उत्तेजित भएको मैले त्यही मौका छोपेर उनलाई घिसारेर लगेँ । मैले उनलाई घिसारेर उखु बारीमा लगेर बलात्कार गरी घाँटी च्यापेर मारेँ ।’
निर्मलाको बलात्कार अत्यन्त पाशविक तरिकाले गरिएको शव देख्नेहरुले बताएका छन् । प्रहरी स्रोतकैअनुसार उनको यौनांग तथा मलद्वार क्षतविक्षत थियो । यस्तो अवस्थामा पनि वीर्य नपाइएको दाबी गरेमा अदालतले विश्वास नगर्ने देखिएको छ ।

प्रहरीले घटनाको २६औं दिनमा शव पाइएको स्थलबाट सर्टको खल्तीको टुक्रा पाएको छ । निर्मलाका बाबुका अनुसार सो टुक्रा हेर्दा २६ दिनदेखि भुइँमा गाडिएको जस्तो देखिन्न थियो । प्रहरीको यो उपलब्धिलाई समेत रोचक मान्न सकिन्छ ।
प्रहरीले निर्मलाका बाबुलाई भनेअनुसार दिलिपले उल्टाखाम जाने सडकबाट करिब १ सय मिटर घिसारेर निर्मलालाई उखुबारीमा लगेर बलात्कार र हत्या गरेको स्विकारेका छन् । साइकल पाइएको स्थानबाट शव पाइएको स्थानसम्म घिसारेर लगिएको कुनै चिह्न न सुरुमा देखिएको थियो, न अहिले नै देखिन्छ ।
करिब ४० किलोकी निर्मलालाई घिसारेर ५० मिटर टाढा लगेर बलात्कार र त्यसपछि हत्या गर्ने दिलिपको शारीरिक अवस्था नभएको आफन्त, छरछिमेक र साथीभाइले बताएका छन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस