प्रदेश १ : प्रदेश सरकारले सार्वजनिका विदा दिएपनि अधिकांश कार्यालयहरु खुला

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १९ : १४
प्रदेश १ : प्रदेश सरकारले सार्वजनिका विदा दिएपनि अधिकांश कार्यालयहरु खुला


झापा । प्रदेश सरकारले दिएको सार्वजनिक विदा संघिय सरकारको मातहातमा रहेका बिषयगत कार्यालयहरुले अझै पालना गरेका छैनन् ।
प्रदेश १ नम्बर का मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बुधवार मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका थिए । तर, प्रदेश सरकारको सार्वजनिक विदा पूर्वका बिषयगत कार्यालयहरुमा अझै लागू भएको देखिएन् । प्रदेश सरकारको विदा स्थानीय तह र स्थानीय तह मातहात गएका कार्यालय, सामुदायिक विद्यालयमै सिमित बन्न पुगे । प्रदेश १ अन्तरगत पर्ने झापा जिल्लाका अधिकाश बिषयगत कार्यालयहरु बुधवार खुल्ला रहेको थियो ।  जिल्ला प्रशासन कार्यालय झापा, मालपोत, नापी, भूमि सुधार, आन्तरिक राजश्व, कोष तथा लेखा नियन्त्रक, शिक्षा, कृषि, वन, विद्युत, खानेपानी लगायतको बिषयगत कार्यालय खुल्ला रहेको थियो । प्रशासन कार्यालय झापामा छिटपुट सेवाग्राही आएकाले त्यहाँका कर्मचारी कार्यालयमा रहेका पुराना फाइल थन्काउन व्यस्त थिए । अन्यदिन सेवाग्राहीका चाप धेरै हुने गरेकाले प्रदेश सरकारको विदाको सदुपयोग गर्दै प्रशासनका कर्मचारी पुरानो फाइल थन्काउँदै भेटिए ।

कार्यालयमा रहेको राहदानी शाखाका रहेका २०७३ सालदेखिको फाइनल र्याकबाट झारेर पोका बनाउँदै स्टोर कोठामा थन्काउँदै फुर्सदिलो समय बिताएका थिए । दिउँसाको समयमा अधिकाशं कार्यालयमा कार्यालय प्रमुख र कर्मचारीको कोठा नै खाली भेटिए । विशेषगरी सेवाग्राहीको धेरै चाप हुने  हुने मालपोत, नापी, भूमिसुधार,  प्रशासन र आन्तरिक राजश्व कार्यालयमा बुधवार सेवाग्राही थोरै मात्रमा देखिए । कार्यालयमा रहेका अधिकांश कर्मचारी कम्प्युटरमा सामाजिक सञ्जाल र समाचार पोर्टल हेर्दै दिन बिताउन बाध्य भए ।

यता झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अहिलेसम्म बिषयगत कार्यालयहरु संघिय सरकारको मातहातमा रहेकोले गृह मन्त्रालयबाट पत्र नआएसम्म प्रदेश सरकारको सार्वजनिक विदा मान्न सकिदैन ।  ‘गृह मन्त्रालयबाट विदाको पत्र आए सबै कार्यालयहरु विदा दिन सकिन्थ्यो’, उहाले भन्नुभयो हामीले संघिय सरकारको निर्णय मान्नु पर्ने हुन्छ ।’
यसअघि पनि प्रदेश सरकारले साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक विदा दिएको थियो । सो बेला पनि अधिकाश बिषयगत कार्यालयहरु खुल्ला रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस