निर्मला बलात्कार हत्या प्रकरण : स्थानीयको विरोधपछि बिष्टको डिएनए परिक्षण गरिने

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १९ : ०२
निर्मला बलात्कार हत्या प्रकरण : स्थानीयको विरोधपछि बिष्टको डिएनए परिक्षण गरिने

कञ्चनपुर । बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा असन्तुष्टि बढेपछि प्रहरीले डिएनए परिक्षण गर्ने भएको छ । पक्राउ परेका अभियुक्त दिलीपसिंह बिष्टको डिएनए परिक्षण गर्न लागिएको प्रहरीले जनाएको छ । डिएनए परिक्षणपछि उनले नै बलात्कार गरेको हो वा होइन प्रष्ट हुनेछ ।

पन्तको बलात्कार र हत्या आरोपमा सोमबार स्थानीय ४१ वर्षिय दिलीपसिंह बिष्टलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएकोमा स्थानीयले उनी बास्तविक अभियुक्त नभएको आशंका गरेका छन् । मृतकका आफन्त तथा स्थानीयले मानसिक सन्तुलन नभएका व्यक्तिलाई अभियुक्तका रुपमा पेश गरेर झुक्याउन खोजेको आरोप लगाएका छन् । प्रहरीको विरोधमा मंगलबारदेखि नै आन्दोलन भइरहेको छ । उनीहरुले जिल्लाका सिडिओ र एसपीको सरुवा हुनुपर्ने माग गर्दै आएका छन् ।

गत साउन १० गते १३ बर्षिया पन्तलाई एक्लै देखेपछि बिष्टले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । उनी यौन बिक्षिप्त व्यक्ति भएको र  एकान्तमा महिला देख्ने वित्तिकै यौनअंग देखाउने गरेको प्रहरीको बिज्ञप्तीमा उल्लेख छ । बाटोमा एक्लै किशोरीलाई देखेपछि बलात्कार गरेको र पक्राउ पर्ने डरले हत्या गरेको  अभियुक्तले स्वीकारेका छन् । तर, प्रहरी अनुसन्धानमा स्थानीयहरु सन्तुष्ट छैनन् । यसैबीच मृतकका आफन्तले बिष्टविरुद्ध जाहेरी दिन अस्वीकार गरेका छन् । बास्तविक हत्यारालाई जोगाउन खोजेको उनीहरुको आरोप छ । अभियुक्तलाई पक्राउ गरेपछि प्रहरीले निर्मलाकी बुबालाई बोलाएर जाहेरी दिन आग्रह गरेको थियो । तर, उनी जाहेरी नदिने भन्दै प्रहरीसँग रिसाएर निस्किएका थिए । जाहेरी नपरेपछि प्रहरी जाहेरीका आधारमा मुद्धा प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस